ख्रीष्टमस -- तपाईंलाई परमेश्‍वरको उपहार

तपाईंले ख्रीष्टमसको विषयमा अवश्‍य सुन्नुभएको छ। ख्रीष्टमस यस्तो उत्सव हो जुन सारा संसारभरि मनाइन्छ। यस समयमा मानिसहरू खुसीयाली मनाउँछन् र एक-अर्कामा उपहारहरू साटासाट गर्छन्। तर ख्रीष्टमस किन मनाइन्छ ? यसको विशेषता के हो ? ख्रीष्टमसचाहिँ येशू ख्रीष्टको जन्मको सम्झनास्वरूप मनाइने दिवस हो। यस संसारमा भएका सबै मानिसहरू जन्मेकै हुन् तर किन येशूकै जन्मचाहिँ यसरी व्यापकरूपमा मनाइन्छ? येशूको जन्ममा त्यस्तो के छ ? यस्ता प्रश्‍नहरूका बारेमा के तपाईंले कहिल्यै विचार गर्नुभएको छ ? यिनै प्रश्नहरूका उत्तर आज हामी यहाँ हेर्नेछौं। त्यसको लागि हामी २००० वर्ष अगाडि ख्रीष्टको जन्मको घटनामा पुग्नुपर्छ। ख्रीष्टको जन्मको सठीक विवरण हामी बाइबलमा पाउँछौं।

Gift, ख्रीष्टमस उपहार
Mary and Angel

२००० वर्ष अगाडि इस्राएल देशको नासरत नामक ठाउँमा एक स्त्री थिइन् जसको नाम मरियम थियो। उनी कन्या थिइन् र उनको विवाह भएको थिएन। एक दिन एउटा स्वर्गदूत उनीकहाँ देखा परे र उनलाई यसो भने, “नडराऊ, मरियम; किनकि तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ। अनि हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरा जन्माउनेछ्यौ, र तिमीले उहाँको नाम येशू राख्नु। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ।” मरियमले भनिन्, “यो कसरी हुनेछ र ? किनकि म कुनै पुरूषलाई जान्दिनँ नै।” स्वर्गदूतले भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मनुहुने पवित्र जनचाहिँ ‘परमेश्‍वरका पुत्र’ कहलाइनुहुनेछ।” तसर्थ, येशूको जन्म असाधारण थियो। उहाँ परमेश्‍वरको सामर्थ्यद्वारा बिना बुवा एक कन्याबाट जन्मनुभएको थियो!

अब येशू जन्मनुहुने समय नजिकिदै गर्दा मरियम आफ्नो मगनी भएको व्यक्ति युसुफसँग नाम लेखाउन (जनगणनाको लागि) बेथलेहेम जानुपर्ने भयो। योचाहिँ बाइबलमा पहिलै येशू बेथलेहेममा जन्मनुहुनेछ भनी लेखिएको भविष्यवाणी पूरा हुनलाई थियो। बाइबलमा लेखिएको थियो: “हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्।” यसबाट हामी थाहा पाउँछौं कि बाइबल सत्य परमेश्‍वरको वचन हो किनकि परमेश्‍वरले मात्र भविष्य जान्न सक्‍नुहुन्छ।

बेथलेहेममा रहँदा-रहँदै मरियमको जन्माउने समय भयो। बेथलेहेम ठाउँचाहिँ नाम लेखाउन आउने मानिसहरूले भरिएको थियो। यसकारण मरियमको लागि त्यहाँ बास बस्ने ठाउँ नै थिएन। यसकारण उनले एउटा गोठमा आश्रय लिनुपर्‍यो। त्यहाँ नै मरियमले येशूलाई जन्माइन् र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुँड (गाईवस्तुहरूले चारो खाने ठाउँ)मा राखिन्।

Mary & Joseph at Bethlehem

त्यही रात त्यस इलाकामा केही गोठालाहरू आफ्नो बगालको हेरचाह गर्दै बसिरहेका थिए। एक्कासि उनीहरूको वरिपरि उज्यालो ज्योति चम्क्यो र उनीहरू त्यस दृश्य देखेर साह्रै डराए। एक स्वर्गदूत येशूको जन्मको घोषणा गर्न उनीहरूकहाँ देखा परेका थिए। स्वर्गदूतले ती गोठालाहरूलाई भने, “नडराओ; किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ — किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो चिन्ह हुनेछ — तिमीहरूले लपेट्ने लुगाहरूमा बेरिएको बालकलाई डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” येशूको जन्म किन विशेष छ त ? किनकि स्वर्गदूतले गोठालाहरूलाई भनेझै येशूको जन्म बडो आनन्दको शुभ समाचार हो जुन सबै मानवजातिको लागि थियो। येशूको जन्म तपाईंको लागि बडो आनन्दको शुभ समाचार हो। येशूको जन्म कसरी तपाईंको लागि बडो आनन्दको शुभ समाचार हो त ? किनकि उहाँ तपाईंका मुक्तिदाता हुनुहुन्छ। यसको विषयमा म अझ तपाईंलाई पछि बताउनेछु।

shepherds angels appearance
Birth of Jesus shepherds

स्वर्गदूतबाट त्यो सन्देश सुन्नासाथ एक्कासि ती स्वर्गदूतको साथमा यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहेका स्वर्गीय सेनाको एउटा भीड देखा पर्‍यो: “परमधाममा परमेश्‍वरलाई महिमा र पृथ्वीमा शान्ति, मानिसहरूप्रति शुभेच्छा।” यी कुराहरूपछि गोठालाहरू हतार-हतार येशू जन्मनुभएको ठाउँमा गए र स्वर्गदूतले जे भनेका थिए त्यही भेट्टाए। अनि यो देखेपछि त्यस बालकको विषयमा तिनीहरूलाई बताइएको कुरा तिनीहरूले चारैतिर सुनाए। अनि सुन्नेहरू सबैले गोठालाहरूद्वारा तिनीहरूलाई बताइएका ती कुराहरूमा अचम्म माने।

प्रिय मित्र, येशूको जन्म यस प्रकारले भएको थियो। कस्तो अचम्मको जन्म, होइन र ? त्यति मात्र होइन तर येशू ख्रीष्टको जन्मको विषयमा बाइबलले यसरी भन्दछ: “परमेश्‍वर शरीरमा प्रकट हुनुभयो।” हो मित्र, येशू ख्रीष्टको शुरू केवल २,००० वर्ष अगाडि भएको होइन तर उहाँ त सबै कुराहरू बनाउनुहुने अनन्त परमेश्‍वर हुनुहुन्छ। २,००० वर्ष अगाडि त उहाँ शरीरमाचाहिँ संसारमा आउनुभएको हो।

किन परमेश्‍वरले संसारमा मानिसको रूपमा जन्म लिनुभयो ? येशूको जन्मभन्दा अगाडि नै स्वर्गदूतले भनेका थिए: “उनले [मरियमले] पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।” बाइबलले भन्दछ: “यो विश्‍वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो — ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो।”

हो, येशू ख्रीष्ट तपाईं र मलाई पापहरूबाट मुक्त गर्न आउनुभएको हो। तपाईं परमेश्‍वरको दृष्टिमा एक पापी हुनुहुन्छ र परमेश्‍वरको दण्डको योग्य हुनुहुन्छ जुन दण्ड अनन्त नरक हो तर येशू ख्रीष्ट यस संसारमा मानिसको शरीरमा आउनुभयो र क्रूसमा तपाईंको पापको दण्ड भोग्नुभई मर्नुभयो। तपाईंलाई अनन्त दण्डबाट बचाउनलाई ख्रीष्ट तपाईंको सट्टामा मर्नुभयो। बाइबलले भन्दछ: “पापको ज्याला मृत्यु हो; तर परमेश्‍वरको अनुग्रहको वरदान [उपहार]चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो।”

येशू ख्रीष्ट
The call of Salvation

प्रिय मित्र, तपाईंलाई परमेश्‍वरले एक उपहार दिन चाहनुहुन्छ। परमेश्‍वर जसले सम्पूर्ण सृष्टि बनाउनुभयो, तपाईं वास गर्नुहुने पृथ्वी उहाँको हो, अनगिन्ती ताराहरू उहाँकै हुन्, सम्पूर्ण सुन, चाँदी, बहुमूल्य रत्नहरू उहाँकै हुन्। परमेश्‍वरले दिनुहुने उपहारभन्दा महान् र बहुमूल्य उपहार तपाईंलाई अरू कसले दिन सक्छ र ? तपाईंलाई परमेश्‍वरले दिन चाहनुहुने उपहार येशू ख्रीष्ट नै हुनुहुन्छ र यो भन्दा महान् उपहार अरू कुनै पनि छैन। ख्रीष्टमसको सम्पूर्ण सन्देश यो नै हो। बाइबलले परमेश्‍वरको उपहारको वर्णन यसरी गर्दछ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” परमेश्‍वर तपाईंलाई अनन्त जीवनको उपहार दिन चाहनुहुन्छ जुन येशू ख्रीष्टमा छ। के तपाईं परमेश्‍वरबाटको यस्तो अमूल्य उपहार लिन चाहन्नुहुन्न र ?

शान्तमय रात, पवित्र रात
येशू ख्रीष्ट कृपालु
विश्‍वका एकमात्र तारणहार
लिनुभयो गोठैमा सत् औतार
बेथलेहेम शहरमा, बेथलेहेम शहरमा

शान्तमय रात, पवित्र रात
जय जय गऔं दूतगण साथ
बालक सुन्दर जन्मनुभो
उहाँ ईश्‍वरका पुत्र हुनुहुन्छ
येशू हो उहाँको नाउँ, येशू हो उहाँको नाउँ

शान्तमय रात, पवित्र रात
येशू ख्रीष्ट हर्षसाथ
आउनुभो स्वर्गदेखि जगतमा
पापी मानिसलाई बचाउन
स्वागत गरौं उहाँलाई, स्वागत गरौं उहाँलाई

येशू ख्रीष्टको जन्मको विवरण
Share via:

Similar Posts

  • येशू ख्रीष्टको सुसमाचार

    करिब ६००० वर्ष अगाडि, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो र उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। तर मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरी पाप गरे र पतन भए। त्यसैलेमानिसको हृदय “सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र?” सबैजना परमेश्वरको महिमारहित हुन गएका छन्।…

    Share via:
  • ख्रीष्टमस के हो ?

    येशू ख्रीष्टको जन्मको आदरस्वरूप ख्रीष्टियनहरूद्वारा मनाइने दिवसलाई ख्रीष्टमस भनिन्छ। यो डिसेम्बर २५ (पौष १०)मा मनाइन्छ। येशूको जन्म करिब २,००० वर्ष अघि इस्राएलको बेथलेहेम शहरमा भएको थियो। इस्राएल एशियाको पश्‍चिमतर्फ पर्दछ। यो मिश्रको उत्तर पट्टीको भू-मध्य सागर नजिक अवस्थित छ। तथापि येशू कुनै साधारण मानिस हुनुहुन्न थियो। उहाँ परमेश्‍वरको अनन्त पुत्र…

    Share via:
  • येशू किन मर्नुभयो?

    येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्। लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने गाउँमा जन्मनुभएको थियो। इस्राएल एशियाको पश्‍चिमी भागमा अवस्थित छ। यो इजिप्ट र लेबानोनको बीचमा भूमध्यसागरसँगै अवस्थित छ। येशू साधारण मानिस…

    Share via:
  • तपाईंले आफ्नो सम्पूर्ण अनन्तता कहाँ बिताउनुहुनेछ?

    कृपया ! तपाईंकै खातिर यसलाई वेवास्ता नगर्नुहोस्।यस लेखलाई समय लिएर ध्यानपूर्वक पढ्नुहोस्। नरकको अनन्त दण्डबाट कसरी उम्कन सक्छु र मृत्युपछि स्वर्ग नै जानेछु भनेर कसरी निश्‍चित हुन सक्छु भनेर थाहा पाउने यो नै तपाईंको एकमात्र र अन्तिम मौका हुनसक्छ। धेरै मानिसहरू विचार गर्छन् कि मानिसहरू मरेपछि कहाँ जान्छन् भन्ने कुरा…

    Share via:
  • अनन्त विनाशबाट बाँच्ने उपाय

    जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्‍नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ, “तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ;…

    Share via:
  • पैसा! पैसा! पैसा!

    यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं ? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन, पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्किनुपर्छ किनभने सित्तैमा कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।  कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने…

    Share via: