तपाईंको प्रश्‍न बाइबलको जवाफ

          यो ज्यादै गम्भिर र महत्वपूर्ण प्रश्‍न हो। आज यस प्रश्‍नको सन्दर्भमा धेरै विचारधाराहरू रहिआएका छन्। जसमध्ये यो सृष्टि एउटा विस्फोटन (big bang) बाट शुरू भएको हो र करोडौं वर्षपछि क्रमिकरूपमा जीव जीवातहरूको शुरुवात हुन गएको हो भन्ने कुरा धेरै मानिसहरूले विश्‍वास गर्दै आएका छन्। तर कुनै एउटा विस्फोटन हुँदा तपाईंले कहिल्यै त्यसको प्रतिफल नियमित हुन आएको देख्‍नुभएको छ? उदाहरणको लागि, के तपाईंले एउटा सिसाको गिलास फुटेर कचौरा बनेको कहिल्यै देख्नुभएको छ? असम्भव, कारण गिलास र कचौरा विशेष उद्देश्यको लागि बुद्धिको प्रयोग गरी विभिन्न आकार प्रकारमा निर्माण गरिन्छ। त्यसैले हामीले यो विशाल सृष्टिको नियमित प्रक्रियालाई हेरेर, यो सृष्टिको संरचना गर्नुहुने कोही न कोही बुद्धिमान् व्यक्ति हुनुपर्छ भन्ने कुरा बुझ्नु पर्दछ। हो त्यो व्यक्ति हुनुहुन्छ ‘परमेश्‍वर’। बाइबलले भन्दछ सबै कुराहरू उहाँद्वारा (परमेश्‍वरद्वारा) हुन आए, अनि हुनआएका कुराहरूमध्ये कुनै पनि उहाँबिना हुन आएन (यूहन्ना १:३)। बाइबलमा अर्को ठाउँमा यसरी लेखिएको छ परमेश्‍वरका वचनद्वारा संसारहरू बनिए; यसकारण देखिएका कुराहरू देखा पर्ने कुराहरूद्वारा बनिएका होइनन् (हिब्रू ११:३)। के तपाईं परमेश्‍वरले आफ्‍नो वचनद्वारा संसारको सृष्टि गर्नुभयो भन्ने कुरामा विश्‍वास गर्न सक्नुहुन्छ? मित्र, वचनमा शक्ति हुन्छ। तपाईको मुखको वचनले ठूलो हलचल मच्चाउन सक्छ। जस्तो: केही वर्षअघि भारतीय सिनेमाका एक जना अभिनेताले मलाई नेपाल देश मन पर्दैन भन्ने अभिव्यक्ति दिँदा नेपालमा हङ्गामा मच्चिएको थियो। सडकहरूमा टायरहरू बालिए। देश नै ठप्प बन्द भएको थियो। अब विचार गर्नुहोस् त, एक साधारण मानिसको बोलिमा त यति ठूलो शक्ति हुन्छ भने झन् परमेश्‍वरको वचनमा कति ठूलो शक्ति हुन्छ होला। तसर्थ परमेश्‍वरको वचनद्वारा सबै कुरा बनिए भन्ने कुरामा विश्‍वास गर्ने आधार छ। अनि सृष्टिको नियमिततालाई हेरेर हामी यो विचार गर्न सक्छौं, कि परमेश्‍वरले एउटा महत्वपूर्ण उद्देश्यले यी सबै कुराहरू बनाउनुभएको छ।

          हामी ईश्‍वरलाई नदेखे तापनि विश्‍वास गर्न सकिने तीन प्रमाणहरू छन्।

(१) सृष्टि: सृष्टि गरिएका कुराहरू जस्तै: आकाश, तारा, बोटविरूवा र पहाड जुन अचम्म तरिकाले रहेका छन्। यी सृष्टिका थोकहरूले ईश्‍वरको अस्तित्वलाई प्रकट गरिरहेका छन्। उदाहरणको लागि हातमा लगाउनुभएको घडीलाई विचार गर्नुहोस् त। के यो घडी कसैले नबनाइकन आफै हुन आयो होला र? यदि हो, घडी आफै हुन आयो भनी हामी भन्छौं भने हामीलाई मानिसले पागल भन्छन्। यसको त दिमाग फुस्केछ भन्छन्। बनाउनेवाला नभई कुनै कुरा आफै आफ बन्दैन। त्यसैले सृष्टि गरिएको थोकहरूले यो बताउँछ कि सृष्टिलाई बनाउनुहुने परमेश्‍वर हुनुहुन्छ। त्यसैले हामी सृष्टिलाई हेरेर ईश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्न सक्छौं।

(२) बाइबल: बाइबल अकाट्य पुस्तक हो। जुन मानिसको लागि परमेश्‍वरले आफ्‍नै प्रेरणाद्वारा यस संसारमा दिनुभएको छ। बाइबलको प्रकाशद्वारा ईश्‍वरको अस्तित्वलाई विश्‍वास गर्न सकिन्छ।

(३) विवेक: हरेक मानिसमा असल र खराब छुट्ट्याउन ईश्‍वरले विवेक राखिदिनुभएको छ। चोर्नु हुँदैन, रिसाउनु हुँदैन, झूट बोल्नु हुँदैन भन्ने कुरा मानिसभित्र छन्। यदि मानिसले चोर्छन् भने मानिसको आफ्‍नै विवेकले दोषी ठहराउँछ। ईश्‍वर हुनुहुन्छ भन्ने कुरा पनि मानिसको विवेकले भनिरहेको हुन्छ। मैले चोरे, झुट बोले भने ईश्‍वर रिसाउनुहुन्छ भन्ने विवेकको प्रकाश मानिसभित्र छ। माथिका यी तीन कुराहरूद्वारा परमेश्‍वर हुनुहुन्छ भनी हामी विश्‍वास गर्न सक्छौं।

          परमेश्‍वरले मानिसलाई आफ्‍नो महिमाको लागि बनाउनुभयो र उहाँले संसारका सबै मानिसलाई प्रेम पनि गर्नुहुन्छ। तर पनि मानिसमा दुःख, कष्ट र रोग-बिमार छन्। यो कुरा सत्य हो। पहिलो कुरा परमेश्‍वरले मानिसलाई कष्ट होस्, पीडा होस् भनेर बनाउनभुएन। मानिसले परमेश्‍वरलाई आदर गरोस्, उहाँको इच्छा र योजनामा जिओस् भनेर बनाउनुभयो, तर दुःखको कुरा मानिस आफैले परमेश्‍वरको महिमा र आदरलाई त्यागेर परमेश्‍वरको आज्ञा भंग गरि आफ्‍नो जीवनमा पापलाई ठाउँ दिए। जुन पापको परिणाम नै मानिसमा मृत्यु, रोगबिमार, अभाव, दुःख कष्ट जस्ता कुराहरूको सृजना भयो। परमेश्‍वरले मानिसलाई बनाउनुहुँदा मानिसमा पाप थिएन। पाप नभएको कारण मानिसको परमेश्‍वरसँग आत्मिक सङ्गति थियो, तर मानिसले परमेश्‍वरलाई त्यागेपछि मानिस दुःख कष्टको जंजालमा फस्न पुगे। त्यसपछि पनि परमेश्‍वरले मानिसलाई प्रेम गर्नुभएकोले फेरि मानिसलाई आफ्‍नो अनन्त महिमाको लागि ग्रहणयोग्य बनाउन मानिसको पाप क्षमा गर्ने बाटो येशू ख्रीष्टद्वारा तयार पार्नुभयो। पापले मानिसमा मृत्यु, दुःख र कष्टको श्राप ल्यायो भने येशूद्वारा मानिसको पाप क्षमा भई मृत्युपश्‍चात अनन्तसम्म परमेश्‍वरको महिमाको लागि एउटा बाटोको पुनःनिर्माण गर्‍यो। त्यसैले प्रभु येशूमा मात्र एउटा पापीले दुःख, कष्ट र गरिबी अवस्थामा पनि आनन्दित हुन सक्दछ। किनभने मृत्युपछि मानिसले अनन्तको लागि येशू ख्रीष्टको कारण परमेश्‍वरको महिमामा र उहाँको स्वर्गीय स्थानमा प्रवेश पाउनेछन्। के तपाईं पनि प्रभु येशूकहाँ विश्‍वासद्वारा आउन चाहनुहुन्छ? चाहनुहुन्छ भने तपाईंले पनि येशूमा यो सत्य आशा पाउनुहुनेछ। बाइबलमा प्रभु येशूको एकजना चेलाले दुःख कष्टमा जिउने प्रभु येशूका चेलाहरूलाई यसरी सान्त्वना दिएका छन्, किनकि म ठान्दछु, यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्, जो हामीमाथि प्रकट हुनेछ (रोमी ८ः१८)

येशूको अस्तित्व कुनै धार्मिक गुरूको जस्तो जन्म भएपछि मात्र शुरू भएको होइन। प्रभु येशु जन्मनुभन्दा अघिदेखि नै हुनुहुन्थ्यो। पवित्रशास्‍त्र बाइबलले भन्दछ, उहाँ अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्टिका जेठा हुनुहुन्छ, …… अनि सबै कुराहरूको अघि उहाँ हुनुहुन्छ र सबै कुराहरू उहाँद्वारा नै स्थिर रहन्छ(कलस्सी १:१५-१७)। प्रभु येशूले स्वर्गमा भएका कुराहरू बनाउनुभयो। उहाँले नै सबै सृष्टि गर्नुभयो। उहाँ नै वास्तविक रूपमा स्वर्गको महिमा त्यागेर संसारमा पापी मानिसको उद्धारको लागि एक कन्या स्‍त्रीबाट पृथ्वीमा पापरहित अवस्थामा जन्म लिई आउनुभएको थियो। जुन कुराको पुष्टि बाइबलमा यूहन्ना ६:३२-३८ पदहरूले यसरी गर्दछ, किनकि परमेश्‍वरका रोटी उनै(येशू) हुन्, जो स्वर्गबाट ओर्लेर आउँछन्, र संसारलाई जीवन दिन्छन्। अनि येशूले भन्नुभयोः जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन; अनि जसले ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन। …. अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैन। किनकि म आफ्‍नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ। येशू स्वर्गबाट आउनुभयो र उहाँले संसारले स्वर्गको बारेमा थाहा पाओस् भनेर आज पवित्रशास्‍त्र बाइबल दिनुभएको छ। जसको माध्यमबाट हामी स्वर्गको बारेमा स्पष्ट बुझ्न सक्छौं र विश्‍वास गर्न पनि सक्छौं। प्रभु येशूले आफूलाई स्वर्गबाट आएको हुँ भन्नुभयो। यो कुरा सत्य हो भन्ने कुरा संसारमा उहाँले गर्नुभएका सामर्थ्यका कामहरू र उहाँको पवित्र र पापरहित जीवनले पनि स्पष्ट पारेका छन्। उहाँले मरेको मान्छेलाई जिउँदो पार्नुभयो, नदेख्नेलाई देख्‍ने तुल्याउनुभयो, ठूलो आँधीबेहरीलाई शान्त पार्नुभयो अन्य थुप्रै कामहरू गर्नुभयो। यसले के बुझाउँछ भने उहाँ साँच्चिकै स्वर्गबाट आउनुभएको परमेश्‍वर हुनुहुन्छ। उहाँको जीवन र चरित्रमा कसैले दाग लगाउन सकेनन्। किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। उहाँ नै सत्य पापरहित हुनुभएकोले उहाँको जीवनले पनि उहाँ स्वर्गबाट आउनुभएको हो भनेर स्पष्ट पारेको छ। झन् अर्को कुरा त उहाँ मृत्युबाट बौरिउठ्नु भएपछि फेरि प्रत्यक्ष रूपमा मानिसहरूकै आँखाबाट स्वर्गतिर उठाइनुभयो। जुन कुरालाई पाँचसय भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा आफ्‍नै आँखाले देखे।

          सबै धर्महरूले एउटै ईश्‍वकहाँ कदापि पुर्‍याउँदैन। पवित्र परमेश्‍वरकहाँ जान मानिसलाई रोक्‍ने बाधक तत्व पाप हो। धर्महरूले मानिसलाई असल जीवन जिउन सिकाउँछ। राम्रो गर, नराम्रो नगर भन्ने कुरा धर्मले सिकाउँछ। तर बाइबलले भन्दछ, राम्रो गरेर अथवा असल कार्य गरेर ईश्‍वरकहाँ पुग्‍न सकिदैन। किनभने मानिसको असल कार्यले मानिसको हृदयमा भएको पाप फुत्त निस्केर जाँदैन। छालामा लागेको मैलो जस्तो पाप होइन। किनभने छालामा लागेको मैलोलाई सफा बनाउन सकिन्छ, तर हृदयको मैलोलाई सफा बनाउने कुनै पनि केमिकल संसारमा नभएको कारण परमेश्‍वरले नै मानिसको हृदयको पाप क्षमा गर्न एउटा बाटो बनाउनुभयो। त्यो बाटो कुनै धर्म होइन तर येशू ख्रीष्ट मात्र हुनुहुन्छ। बाइबलमा लेखिएको छ, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि (परमेश्‍वर) पिताकहाँ आउँदैन (यूहन्ना १४ः६)। बाइबलमा अर्को ठाउँमा यस्तो लेखिएको छ, किनकि हामीलाई परमेश्‍वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति पापहरूका लागि एकपल्ट दुःख भोग्‍नुभयो र शरीरमा मारिनुभयो, तर आत्माद्वारा जीवित पारिनुभयो(१पत्रुस ३ः१८)। [थप जानकारीका लागि बाटो भन्ने हाम्रो लेख पढ्न सक्नुहुन्छ]

          येशू ख्रीष्ट यस संसारमा अरू ईश्‍वरहरूभन्दा भिन्न हुनुको धेरै कारणहरू छन्। जसमध्ये केही कारणहरू निम्नलिखित छन्।

(क) सबै कुराको कुराको शुरूवात छ, जस्तो कि तपाईं यस संसारमा नजन्मिउनजेलसम्म तपाईंको कुनै परिचय थिएन। तपाईं को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त्यो थाहा थिएन। अनि जब तपाईंको जन्म भयो, अनि जब जब तपाईं बढ्दै जानुभयो तब तपाईंको परिचय तपाईंको पछि पछि लाग्‍न थाल्यो। तर येशू ख्रीष्टको सन्दर्भमा बाइबलले भन्दछ, उहाँको कुनै शुरू पनि छैन, अन्त्य पनि छैन। बाइबलमा प्रभु येशूले यस्तो भन्नुभयो, अल्फा र ओमेगा, शुरू र अन्त म नै हुँ, प्रभु भन्नुहुन्छ, जो हुनुहुन्छ,  जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ, जो सर्वशक्तिमान् हुनुहुन्छ(प्रकाश १ः८)। उहाँ अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्टिका जेठा हुनुहुन्छ; किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरू उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्; अनि सबै कुराहरूका अघि उहाँ हुनुहुन्छ, र सबै कुराहरू उहाँद्वारा नै स्थिर रहन्छन्(कलस्सी १:१५-१७)।

(ख) येशू ख्रीष्ट मानव रूप लिएर यस संसारमा आउनुभन्दा करिब ७०० वर्ष अघि यशैया नाम गरेका भविष्यवक्ताद्वारा परमेश्‍वरले यसो भन्नुभयो, यसकारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ- हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन्।(यशैया ७ः१४)।

(ग) येशू ख्रीष्टको आगमन हुन जाति र कुन ठाउँमा हुनेछ भन्ने कुरा समेत उहाँको आगमन हुनुभन्दा करिब ५०० वर्ष अघि नै यसरी भविष्यवाणी गरियो, तर तँचाहिँ, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्‍गमहरू ता प्राचीनकालदेखि, अँ, अनन्तकालदेखि नै हुन्(मिका ५:२)।

(घ) उहाँले दिनुभएको शिक्षाहरूको आधारमा उहाँ यस संसारमा आएका अन्य ईश्‍वरहरूभन्दा भिन्न हुनुहुन्थ्यो। जस्तोः संसारमा आएका ईश्‍वरहरू धर्मीहरूलाई बचाउन र पापीहरूलाई नष्ट गर्न आए; तर येशू पापीहरूलाई बचाउन आउनुभयो। उहाँले भन्नुभयोः म धर्मीहरूलाई होइन पापीहरूलाई पश्‍चात्तापका निम्ति बोलाउन आएको हुँ(लूका ५:३२)। त्यस्तै येशूले भन्नुभयोः बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन(यूहन्ना १४:६)। तब फेरि येशूले यसो भन्दै तिनीहरूसँग बोल्नुभयोः संसारको ज्योति म नै हुँ; जसले मलाई पछ्याउँछ, ऊ अन्धकारमा हिँड्नेछैन, तर जीवनको ज्योति पाउनेछ(यूहन्ना ८:१२)। तब यहूदीहरूले उहाँको विषयमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, स्वर्गबाट ओर्ली आएको रोटी म नै हुँ(यूहन्ना ६:४१)। अनि उहाँले गर्नुभएको यस्तो दाबी आजसम्म कसैले गर्न सकेका छैनन्।

(ङ) येशू ख्रीष्टको जीवनलाई हेरेर पनि उहाँ यस संसारका अन्य ईश्‍वरहरू भन्दा फरक हुनुहुन्थ्यो भन्ने कुरा हामी बुझ्न सक्छौं। जस्तोः उहाँले कहिल्यै पाप गर्नुभएन, गाली खाएर सट्टामा गाली दिनुभएन; पवित्र र सिद्ध जीवन जिउनुभयो। अनि त्यति मात्र कहाँ हो र! मानिसहरू उहाँले गर्नुभएको सामर्थ्यका कार्यहरू देखेर छक्कै पर्दथे। उहाँले मरेकाहरूलाई बिउँताउनु हुन्थ्यो। जस्तो सुकै रोगीहरूलाई पनि निको पार्नुहुन्थ्यो। जन्मैदेखिको अन्धा, लङ्गडा, बहिराहरूलाई निको पार्नुहुन्थ्यो। अनि प्रकृतिमाथि पनि उहाँको अधिकार थियो। एक दिन चेलाहरू उर्लदो आँधीको सामना गर्दै थिए। तर उहाँले आँधीलाई भन्नुभयो, ‘शान्त हो’, तब आँधी शान्त भयो। के यस्तो उदेकको सामर्थ्य आजसम्म कसैले गर्न सकेको छ?

(च) हामी येशूको जीवनको आधारमा मात्र होइन तर उहाँको मृत्युको आधारमा पनि उहाँ अरू ईश्‍वरहरूभन्दा पृथक हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौं। हुन त मानिसहरू नबुझेका हुनाले के भन्ने गर्छन् भने येशू साँच्ची नै परमेश्‍वर हुनुभएको भए उहाँ किन मर्नुभयो त? तर येशू ख्रीष्ट(परमेश्‍वर) यस संसारमा मानव रूप लिएर आउनुको उद्देश्य नै मर्नु थियो। पापी मानिस र पवित्र परमेश्‍वरबीच मिलाप गराउने बाटो बलिदानको बाटो थियो। तर परमेश्‍वरले सिद्ध र निष्कलंक बलिदान माग गर्नुभएकोले येशू ख्रीष्ट मानिसको समानतामा सिद्ध बलिदानको निम्ति आउन परेको थियो। बाइबलमा उहाँको यस संसारमा आगमन हुनुभन्दा १००० वर्ष अघि नै उहाँको मृत्युको बारेमा यस्तो भविष्यवाणी भयो।

(१) उहाँलाई आफ्‍नै मित्रले ३० वटा चाँदीका टुक्रामा धोका दिनेछ।

(२) उहाँ काठको क्रूसमा टाँगिनु हुनेछ।

(३) उहाँका हात पाउहरूमा काँटीहरू ठोकिनेछन्।

(४) उहाँ पापबलिको रूपमा मर्नुहुनेछ। अनि उहाँ मरेको तेस्रो दिनमा मृत्युबाट बौरिउठ्नुहुनेछ(भजनसङ्ग्रह २२)। अनि भविष्यवाणीका यी वचनहरू अक्षरशः पुरा भए। उहाँ मृत्युमाथि विजयी हुनुभयो। अनि ४० दिनसम्म यस संसारमा धेरै मानिसहरूको आँखा अघि जीवित स्वर्ग प्रस्थान गर्नुभयो। तसर्थ हामी कुनै संकोच नमानि भन्न सक्छौं; येशू सत्य परमेश्‍वर र सारा संसारका मुक्तिदाता हुनुहुन्छ। त्यसैले उहाँ संसारमा प्रसिद्ध हुनुहुन्छ। उहाँ संसारका ईश्‍वरहरूभन्दा पृथक हुनुहुन्छ।

          बाइबलले भन्दछ, अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ(हिब्रू ९:२७)। यस पदबाट हामी मानिसको शारीरिक जीवनको अन्त्य नै उसको समाप्ति होइन तर ऊ मृत्युबाट बौरिनेछ भन्ने कुरा बुझ्न सक्छौं। मानिस मृत्यु पश्‍चात फेरि न्यायको लागि बौरिउठ्नेछ। मानिसले पापको क्षमा पाएको छ भने ऊ अनन्तताको लागि पीडाको ठाउँ नरकमा परमेश्‍वरबाट अलग भएर रहनेछ। त्यसैले बाइबलमा परमेश्‍वर यस्तो भन्नुहुन्छः म जीवित छु, यसकारण हरेक घुँडा मेरो सामु टेकिनेछ र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ। यसैकारण हामीमध्ये हरेकले परमेश्‍वरलाई आफ्‍नो-आफ्‍नो लेखा दिनेछ(रोमी १४:११-१२)। तर यस सत्यतालाई मानिस आज अविश्‍वास गर्दै यसो भन्छन्ः मरेकाहरू कसरी बौराइन्छन् त? अनि कस्तो शरीरमा उनीहरू आउँछन् त? मित्र, यस प्रश्‍नको जवाफ बाइबलले यसरी दिएको छः हे मूर्ख तिमी जे छर्दछौ, त्यो नमरेसम्म जिउँदो पारिदैन। अनि तिमी जे छर्दछौ, पछिबाट हुने शरीर त छर्दैनौं, तर नाङ्गो दाना छर्दछौ, चाहे त्यो गहूँको होस् चाहे अरू कुनै अन्नको। तर आफूलाई मन परेअनुसार परमेश्‍वरले त्यसलाई शरीर दिनुहुन्छ। सबै मासु एकै किसिमको हुँदैन, तर मानिसहरूको एक किसिमको हुन्छ, पशुहरूको अर्कै किसिमको मासु हुन्छ। स्वर्गका शरीरहरू र पृथ्वीका शरीरहरू पनि हुन्छन्, तर स्वर्गका शरीरहरूको तेज एक किसिमको हुन्छ, र पृथ्वीका शरीरहरूका तेज अर्कै किसिमको हुन्छ। घामको तेज एक किसिमको हुन्छ, जूनको तेज अर्कै र ताराहरूको तेज अर्कै किसिमको हुन्छ, किनकि तेजमा पनि एउटा तारा अर्को ताराभन्दा भिन्नै हुन्छ। मरेकाहरूको बौरिउठाइ पनि यस्तै प्रकारको हुन्छ। विनाशी दशामा छरिन्छ, अविनाशी दशामा बौराइन्छ। अनादरमा छरिन्छ, महिमामा बौराइन्छ, दुर्बलतामा छरिन्छ, सामर्थ्यमा बौराइन्छ। एउटा प्राकृतिक शरीर छरिन्छ, एउटा आत्मिक शरीर बौराइन्छ। प्राकृतिक शरीर हुन्छ र आत्मिक शरीर पनि हुन्छ। अनि यस्तो लेखिएको छः ‘पहिलो मानिस आदम जीवित प्राणी बन्यो। अन्तिम आदमचाहिँ जीवित पार्नुहुने आत्मा बन्नुभयो। तर आत्मिक होइन तर पाकृतिक चाहिँ पहिलो थियो, त्यसपछि आत्मिक। पहिलो मानिस पृथ्वीबाटको माटोले बनिएको, दोस्रो मानिस स्वर्गबाटका प्रभु। माटोले बनिएको मानिस जस्तो छ, ती माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, स्वर्गीय मानिस जस्तो हुनुहुन्छ, ती स्वर्गीयहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोले बनिएको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै हामी स्वर्गीय मानिसको रूप पनि धारण गर्नेछौं(१कोरिन्थी १५:३६-४९)।

          संसारका सबै मानिस परमेश्‍वरको क्रोधमा छन् भनेर परमेश्‍वरको वचन पवित्रशास्‍त्र बाइबलले भन्दछ। मानिस परमेश्‍वरको क्रोधमा पर्नुको कारण मानिस पापी भएकोले नै हो। पापले परमेश्‍वर र मानिस बीचको सम्बन्धलाई भताभुङ्गो बनाइदिएको छ। जसको कारण मानिसले परमेश्‍वरको सम्बन्ध जोड्न सक्दैनन्। परमेश्‍वर संसारको सबै मानिसलाई प्रेम गर्नुहुन्छ। मानिसको आफ्‍नै धर्म, संस्कार र रीतिरिवाजद्वारा परमेश्‍वरसँग मिलाप पाउन नसक्‍ने भएको कारण र मानिसको पाप क्षमाको लागि कुनै पनि उपाय नभएको कारण परमेश्‍वर स्वयम एक कन्याबाट जन्मिएर पापरहित अवस्थामा यस पृथ्वीमा आइ आफ्‍नो बहुमूल्य रगत बहाई आफ्‍नो मृत्युद्वारा मानिसको परमेश्‍वरसँग टुटेको सम्बन्ध जोड्ने अलौकिक कार्य गर्नुभयो। एउटा पापीले अर्को पापीको पाप क्षमा गर्न असम्भव थियो त्यही कारण पवित्र परमेश्‍वर मर्नु पर्‍यो। यो मानव जातिको लागि परमेश्‍वरको उदेकको प्रेम हो। बाइबलमा १ तिमोथी ३:१६ मा यस्तो लेखिएको छ, भक्तिको रहस्य महान् छ, परमेश्‍वर शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि लगिनुभयो। त्यस्तै गरी रोमी ५:८-१० पदहरूमा यस्तो लेखिएको छ, तर परमेश्‍वरले हामीतर्फ आफ्‍नो प्रेम यसैमा प्रकट गर्नहुन्छ- हामी पापी हुँदा हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ्दा गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछौं। किनकि शत्रु हुँदाखेरी उहाँको पुत्रको मृत्युद्वारा परमेश्‍वरसित हाम्रो मिलाप भयो भने मिलाप भएपछि ता झन् बढ्ता गरि उहाँको जीवनद्वारा हामी बचाइनेछौं मानिसलाई परमेश्‍वरको क्रोधबाट बाँच्न रगत र मृत्युको आवश्यकता थियो। त्यो मृत्यु र रगत पापरहित मानिसको हुनुपर्थ्यो। पापरहित मानिस संसारमा कोही पनि नभएको कारण परमेश्‍वर येशू ख्रीष्ट स्वयम पापरहित मानवको रूपमा यस संसारमा आउनुभयो, उहाँले आफ्‍नो रगत र मृत्युद्वारा मिलापको कार्य पूरा गर्नुभयो। [येशू किन मर्नुभयो भन्ने लेख पनि पढ्नुहोस्]

          परमेश्‍वरले स्वर्गमा आफ्‍नो सेवा र कामको निम्ति लाखौं करोडौं आत्मिक प्राणीहरू (स्वर्गदूतहरू) बनाउनुभयो। अनि यी स्वर्गदूतहरूको अभिभावकको रूपमा परमेश्‍वरले अर्को एक लुसिफर नाम गरेको स्वर्गदूतलाई पनि बनाउनुभयो। जसको बारेमा बाइबलमा यस्तो लेखिएको छ, हे लुसिफर, बिहानीको छोरो, तँ कसरी स्वर्गबाट खसिस् ! जाति-जातिलाई कमजोर बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस् !(यशैया १४:१२)। लुसिफर सिद्धताको नमूना थियो। उसलाई परमेश्‍वरले बुद्धिले सुसज्जित गर्नुभएको थियो। तर यो स्वर्गदूत लुसिफरले आफ्‍नो हृदयमा यसो भन्यो, म स्वर्गमा चढ्नेछु, म आफ्‍नो सिंहासन परमेश्‍वरको ताराहरूभन्दा माथि उचाल्नेछु; अनि म उत्तरीय भागहरूमा अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्‍नेछु; म बादलहरूका उचाइहरूभन्दा माथि चढ्नेछु; म परमप्रधानजस्तै हुनेछु(यशैया १४:१३-१४)। अनि लुसिफरको घमण्डको कारण परमेश्‍वरले उसलाई स्वर्गबाट पृथ्वीमा फ्यालिदिनुभयो। अनि परमेश्‍वरले यसरी लुसिफरलाई धपाउँदा उसको कुरालाई सहमति दिने स्वर्गदूतहरू पनि यस पृथ्वीमा फालिए। यही लुसिफरलाई बाइबलले शैतान भनेको छ, र उसको पछि लाग्‍ने ती स्वर्गदूतहरूलाई शैतानको सेना साथै दुष्टात्माहरू।

यी विद्रोही दुष्ट स्वर्गदूतहरूलाई बाइबलमा यस संसारका ईश्‍वरहरू पनि भनिएको छ(२कोरिन्थी ४:४)। यी परमेश्‍वरको शत्रुहरू हुन्। परमेश्‍वरले यिनीहरूको निम्ति अग्‍निकुण्ड(जसलाई नरक पनि भनिन्छ) बनाउनुभएको छ। एक दिन यिनीहरूलाई सदासर्वदाको निम्ति परमेश्‍वरले उक्त अग्‍निकुण्डमा हालिदिनुहुनेछ।

पाप भनेको परमेश्‍वरको आज्ञा भङ्ग गर्नु हो। के संसारको सबै मानिस आज लोभ नगरी, ईर्ष्या नगरी, झूट नबोली, र आफ्‍नो हृदयमा खराब कुरा नसोची सिद्ध रूपमा जिउन सक्छन्? परमेश्‍वरले यी सबै कुराहरूमा सिद्धताको माग गर्नुभएको छ। तर मानिस कुनै  न कुनै कुरामा चुक्छन् र परमेश्‍वरको आज्ञा भङ्ग गर्छन्। जब हामी आफ्‍नो बारेमा सोच्छौं तब हामी आफै दोषी ठहरिन्छौ। पाप मानिसको हृदयमा छ। मानिसले लोभ गरेर, चोरी गरेर, झूट बोलेर, व्यभिचार गरेर र मानव हत्या गरेर पापको प्रदर्शन गर्छन्। हो कि होइन एकचोटी हृदयदेखि विचार गर्नुहोस् त?

          बाइबलले भन्दछ, मुक्ति पाउनको लागि पाप क्षमा हुनु पर्दछ। पाप के हो? भन्ने कुरा बाइबलमा यसरी लेखिएको छ, किनभने भित्रबाट नै अर्थात मानिहरूको हृदयबाट नै खराब विचार, परस्‍त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्; र मानिसलाई अशुद्ध पार्दछन्(मर्कूस ७:२२-२३)। त्यसैले पाप छालाको मैला नभई हृदयको मैला हो। तसर्थ हाम्रा प्रयास, असल जीवन र धर्म-कर्मद्वारा पाप धुने प्रयास गर्नु भनेको कागलाई नुहाएर बकुल्ला बनाउन खोजे जस्तो मात्रा हो। तर खुशीको कुरा येशू ख्रीष्टको बलिदानमा तपाई विश्‍वास गर्नुहुन्छ भने तपाईंको पाप धोइनेछ। कारण उहाँ तपाईंलाई पापबाट छुटकारा दिन यस संसारमा आउनुभएको हो। बाइबललमा यसरी लेखिएको छ, किनकि धर्मी मानिसको निम्ति मुस्किलले कोही मर्ला कि! तर परमेश्‍वरले हामीतर्फ आफ्‍नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ- हामी पापी हुँदा हुँदा ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ्दा गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछौं। किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्‍वरसित हाम्रो मिलाप भयो भने मिलाप भएपछि ता झन् बढ्ता गरी उहाँको जीवनद्वारा हामी बचाइनेछौं। अनि यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्‍वरमा आनन्द पनि मनाउँछौं, उहाँद्वारा अब हामीले मिलाप पाएका छौं(रोमी ५:६-११)। तसर्थ यदि तपाईं आफ्‍नो मुखले प्रभु येशूलाई स्वीकार गर्नुहुन्छ भने तपाईंले मुक्ति पाउनुहुन्छ। बाइबलमा यसरी लेखिएको छ, किनकि धार्मिकताका निम्ति हृदयले विश्‍वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्रशास्‍त्रले भन्दछः ‘उहाँमाथि विश्‍वास गर्ने हरेक शर्ममा पर्नेछैन।’ किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्नेहरूका निम्ति धनवान हुनुहुन्छ। ‘किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ(रोमी १०:९-१३)।

          धेरै डाक्टरहरू र वैज्ञानकिहरूले प्रभु येशूलाई आफ्‍नो जीवनको उद्धारकर्ताको रूपमा स्वीकार गरेर पछ्याएका छन्। डाक्टर र वैज्ञानिकहरूले परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेका छन्। उदाहरणको लागि क्याल्कुलेटरका आविष्कारक Charles Babbage, इलेक्ट्रोजेनेरेटरका आविष्कारक Micheal Faraday, Law of Gravity अथवा गुरूत्वकार्षणको नियम पत्ता लगाउने Sir Isaac Newton इत्यादि ख्रीष्टलाई व्यक्तिगतरूपमा विश्‍वास गर्नेहरू थिए। साथै धेरै डाक्टरहरूले पनि प्रभु येशूलाई विश्‍वास गरेका छन्। [यस विषयमा अझै बुझ्नको लागि हामी तपाईलाई Way of Life Literature को Testimonies of Scientists Who Believe the Bible नामक अङ्ग्रेजी पुस्तक पढ्नलाई उत्साह दिन्छौं जुन हामीसँग उपलब्ध छ। यस पुस्तकमा विगत साथै वर्तमान समयका ४० भन्दा बढी वैज्ञानिकहरूको गवाहीहरू छन्, जसले बाइबल विश्‍वास गर्छन्। तपाईंले हाम्रो ठेगानामा सम्पर्क गर्न सक्‍नुहुन्छ। हामी तपाईंलाई निशुल्क PDF फाइल उपलब्ध गराइदिन सक्छौं।]

          ‘बाइबल’ शब्द ग्रीक शब्द ‘बिब्‍लस’ बाट आएको हो। जसको अर्थ हुन्छ ‘पुस्तक’। वास्तवमा बाइबल जम्मा ६६ वटा पुस्तकहरूले बनेको छ। यसलाई प्रमुख दुई खण्डमा विभाजन गरिएको छः १) पुरानो करार, जसमा २९ वटा पुस्तकहरू छन्। २) नयाँ करार, जसमा २७ वटा पुस्तकहरू छन्। बाइबल संसारभरिमा सबैभन्दा बढी पढिएको र प्रसिद्ध पुस्तक हो। इतिहासभरि नै छापाखानाको आविस्कार भएदेखि नै संसारमा अर्को कुनै पुस्तकभन्दा बढी बाइबल नै हरेक वर्ष छपाइएका र बिक्री भएका छन्। संसारमा अरू कुनै पुस्तकहरूभन्दा बढी भाषाहरूमा बाइबल अनुवाद गरिएको छ। यसलाई मानिसको जीवन र राष्ट्रहरू परिवर्तन गरिदिएको छ र लेखिएको अरू कुनै पुस्तकले भन्दा बढी मानिसहरूलाई प्रभाव पारेको छ। यो ज्यादै शक्तिशाली छ, किनकि यो परमेश्‍वरको वचन हो, केवल मानिसहरूको शब्द मात्र होइन। कुनै पनि प्राचीन पुस्तकलाई भन्दा बाइबलको नयाँ करारलाई प्रमाणित गर्न धेरै पाण्डुलिपीहरू उपलब्ध छन्। बाइबलको नयाँ करार खण्ड मूल रूपमा ग्रीक भाषामा लेखिएको थियो र केही समयपछि नै ल्याटिनमा अनुवाद गरिएको थियो। आज बाइबलका पाँच हजारभन्दा बढी ग्रीक पाण्डुलिपीहरू, आठ हजारभन्दा बढी ल्याटिन पाण्डुलिपीहरू र अरू पनि थुप्रै भाषाहरूमा छापिएका पाण्डुलिपीहरू प्राचीन समयदेखि नै अस्तित्वमा पाइन्छन्। यिनीहरूले प्रमाणित गर्दछन् कि आज हामीसँग परमेश्‍वरको वचन त्यही रूपमा छ जसरी त्यो मूल रूपमा लेखिएको थियो। युगहरू बित्दै जाँदा पनि यो नासिएको वा भ्रष्ट पारिएको छैन। बाइबलले मात्र ‘मानिसले साँचो मुक्ति कसरी पाउँछ’ बताएको छ। त्यतिमात्र होइन मानिसको मृत्युपछि के हुनेछ, यस पृथ्वीको अन्त कसरी हुनेछ र सृष्टिको र मानिसको शुरूवात कसरी भयो, साथै विभिन्न भाषाहरूको शुरूवात कसरी भयो? यी सबै प्रश्‍नहरूको जवाफ बाइबलले मात्रै स्पष्ट रूपमा दिएको छ।

          बाइबलमा जति पनि भविष्यवाणीहरू छन्, ती अक्षरशः पूरा हुँदै आइरहेका छन्। अझ सम्म कुनै पनि भविष्यवाणी अपूरो भएको छैन। यदि बाइबल परमेश्‍वरकै वचन नहुँदो हो र केवल यो मानिसकै विचार, सिद्धान्त र दर्शन भएको भए यसमा धेरै गल्ती र त्रुटीहरू हुन्थ्यो। तर बाइबल परमेश्‍वरको वचन भएको कारण यसमा भएका हरेक घट्ना, ठाउँ, व्यक्ति वास्तविक हुन् र ऐतिहासिक रूपमा प्रमाणित भएका छन्। बाइबल परमेश्‍वरको आफ्‍नै वचन भएको कारण पनि यो सत्य छ। मानिसले परमेश्‍वरकै प्रेरणाद्वारा बाइबल लेखेका हुन् तर आफ्‍नै ज्ञान, समझ र बुद्धिले होइन। बाइबलमा २ पत्रुस १:२०-२१ मा यस्तो लेखिएको छः -र पहिले यो जान पवित्रशास्‍त्रको कुनै पनि भविष्यवाणी आफ्‍नो निजी व्याख्याबाट भएको होइन। किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्‍वरका पवित्रजनहरू पवित्रआत्माद्वारा प्रेरणा पाएर बोले।

          विश्‍वासको परिभाषा के हो? यस संसारमा यस प्रश्‍नको जवाफलाई मानिसहरू विभिन्न प्रकारले परिभाषित गर्दछन्। तर परमेश्‍वरको वचन बाइबलले भन्दछ, विश्‍वासचाहिँ आशा गरिएका वस्तुहरूको निश्‍चयता र नदेखिएका कुराहरूको प्रमाण हो। किनकि यसैद्वारा प्राचीनहरूले असल गवाही प्राप्त गरे(हिब्रू ११:१-२)। हामीले देखेको कुरामा होइन तर नदेखेको कुरामा विश्‍वास गर्नुपर्छ। यो कुरा माथि उल्लेखित वचनले स्पष्ट पारेको छ। अनि अर्को कुरा माथि उल्लेखित वचन अनुसार हामी विश्‍वासद्वारा नदेखिएका कुराहरू सत्य हो भन्ने कुरामा निश्‍चित हुन सक्छौं। तर यसो हो भन्दैमा यदि हामी गलत कुरालाई विश्‍वास गर्दछौं भने त्यो सत्य हुँदैन। उदाहरणको लागि यदि कसैले तपाईंलाई सूर्यमा मानिसको सङ्ख्या दश अरब छ भनि भन्छ भने के तपाईं त्यस कुरामा विश्‍वास गर्नुहुन्छ र? असम्भव ! त्यसैले मित्र यदि तपाईं कुनै कुरालाई विश्‍वास गर्नुहुन्छ भने विश्‍वास गर्ने आधार चाहिन्छ। के तपाईंले विश्‍वास गर्दै आउनुभएको कुराहरूमा विश्‍वास गर्ने आधार छ?

          बाइबलअनुसार यस संसारमा दुई किसिमका रोगहरू छन्। शारीरिक रोग र आत्मिक रोग। जसलाई शरीरमा रोग लागेको छ, जस्तै टि.बी, क्यान्सर, एड्स, रूघाखोकी आदि, ती शारीरिक बिमारीहरू हुन्। अनि शारीरिक रोगले भौतिक शरीरलाई नष्ट गर्छ। त्यस्तै जसलाई आत्मामा रोग लागेको छ, जस्तै:- घमण्ड, रिस, हत्या, लोभ, डाहा, कामुकता आदि, ती आत्मिक बिमारीहरू हुन्। अनि यस रोगले मानिसलाई अनन्त मृत्यु अर्थात नरकको भयानक दण्डमा पुर्‍याउँदछ। कुनै पनि कुराको शुरूवात हुन्छ। त्यस्तै मानव जातिमा लागेका यी दुई प्रकारका रोगहरूको पनि शुरूवात छन्। यी रोगहरू कसरी आए त मानव जातिमा? बाइबलले भन्दछ, सृष्टिको पहिलो मानिसको आज्ञा उल्लङ्घनबाट समस्त मानव जातिमा यी रोगहरू आए। यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञापालन गरेकोले धेरैजना धर्मी बनाइनेछन्(रोमी ५:१२,१९)। तब परमेश्‍वरले मानव जातिको दयानीय अवस्थालाई देखेर चंगाइको निम्ति येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। त्यसैले येशू भन्नुहुन्छ, निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापका निम्ति बोलाउन आएको हुँ(लूका ५:३१-३२)। तसर्थ तपाईं आज म एक पापी व्यक्ति हुँ, अर्थात म एक आत्मिक बिरामी हुँ भन्ने कुरा महसुस गरेर, येशू ख्रीष्टसँग आफ्‍ना पापहरूको क्षमा माग्दै, आफ्‍नो हृदयदेखि उहाँलाई उद्धारकर्ता परमेश्‍वरको रूपमा विश्‍वास गर्नुहुन्छ भने तपाईंको पाप क्षमा हुन्छ। मृत्यु पश्‍चात तब तपाई अनन्त मृत्यु अर्थात नरकको दण्डमा कहिल्यै जानुपर्दैन र यस जीवनमा पनि ईश्‍वरीय शान्ति पाउनुहुन्छ।

अर्को कुरा, येशू प्रभु यस संसारमा भौतिक कुराहरूको परिवर्तन गराउन आउनुभएको होइन। त्यसैले शारीरिक रोगको स्थाइ चंगाईको बारेमा उहाँले कुनै प्रतिज्ञा गर्नु भएन। हामीले हाम्रा शारीरिक दुर्बलताहरू उहाँकै जिम्मामा सुम्पनुपर्छ। उहाँको इच्छा भयो भने उहाँले हाम्रो शारीरिक रोगहरू पनि निको पार्नुहुन्छ। कयौं रोगीहरूले ज्यादै ठूला ठूला रोगहरूबाट चंगाई पाएका उदाहरणहरू पनि छन्। तर शारीरिक रूपमा तपाईं कमजोर हुनुहुन्छ भने पनि तपाईं आत्तिनु पर्ने कुरा छैन। प्रभु येशूका एकजना चेला पावल बिरामी थिए, तर उनले चङ्गाइ पाएनन्। किन पाएनन् त? कारण बाइबलमा यस्तो लेखिएको छ, अनि प्रकाहरूको भरपूरीको कारणले म नापभन्दा बढी नफुलूँ भनेर मेरो शरीरमा एउटा काँडा दिइयो-नापभन्दा बढी नफुलूँ भनेर मलाई मुक्काले हान्नाका निम्ति दिइयो। यो मबाट हटोस् भनी यस कुराका लागि मैले प्रभुलाई तीनपल्ट विन्ती गरें। अनि उहाँले मलाई भन्नुभयोः ‘मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ।’ यसकारण ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरू मेरा दुर्बलताहरूमा ज्यादै खुशीसित म गर्व गर्नेछु। यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्‍लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु(२कोरिन्थी १२:७-१०)।

          यस संसारमा दुई किसिमका पापीहरू छन्।

(१) पाप क्षमा पाएका पापी, जो येशू ख्रीष्टमाथि विश्‍वास गर्छन्।

(२) पाप क्षमा नपाएका पापी, जो येशू ख्रीष्टमा विश्‍वास गर्दैनन्। ख्रीष्टियानहरूले येशू ख्रीष्टमा विश्‍वास गरेको हुनाले उनीहरूका पापहरू ढाकिएका मात्र छन्, पूरै रूपमा हटिसकेका छैनन्। तर एक दिन प्रभु आफैले पूर्ण रूपमा सिद्ध पार्नुहुनेछ- ख्रीष्टियानहरू बद्लिनेछन्। बाइबलमा यसरी लेखिएको छ, जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्‍नो वशमा पार्न सक्‍नुहुन्छ – त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहिन शरीरलाई बदली गरिदिनुहुन्छ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ(फिलिप्पी ३:२१)। बाइबलको अर्को पुस्तकमा ख्रीष्टियानहरूलाई यसरी लेखिएको छ, हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामीले आफैलाई धोका दिन्छौ, र हामीमा सत्य हुँदैन(१यूहन्ना १:८)। तसर्थ ख्रीष्टियानहरूले पनि खराब जीवन जिउन सम्भव छ।

         हामी सबै पापी छौं भन्ने कुरा स्पष्ट हुने गरी देखाउनको लागि यी आज्ञाहरू हामीलाई दिइएको छ। बाइबलले भन्छ, व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ(रोमी ३:२०)। १० आज्ञाहरू मध्ये केही आज्ञाहरू जस्तोः झूटो नबोल्नू, नचोर्नू, मानव हत्या नगर्नू, व्यभिचार नगर्नू, आमाबुबालाई आदर गर्नू, लोभ नगर्नू, र परमेश्‍वर बाहेक अरू कसैलाई नपुज्नू भन्ने आज्ञाहरू पाइन्छ। यी आज्ञाहरू कुनै पनि मानिसले सिद्धरूपले पालन गर्नै सक्दैन। गरे तापनि एउटा न एउटामा चुकि हाल्छ। यो चुकाइले नै मानिसले असल गर्न सक्दैन भन्ने कुराको बोध गराउँछ। यसले मानिसको पापी अवस्था दर्शाउँछ। मानिस पापी छ भन्ने कुरा मानिसले बुझोस् र मानिस आफ्‍नो पाप क्षमाको लागि प्रभु येशूकहाँ आओस् भन्ने उद्देश्यले परमेश्‍वरले १० आज्ञा दिनुभयो।

          धर्म भनेको यो गर, त्यो नगर भन्ने बाहिरी पक्षहरू मात्र हो चाहे त्यो ख्रीष्टियान धर्म मान्नेहरू नै किन नहोस्। यसले उसको भित्री जीवन र अनन्ततालाई केही फाइदा दिँदैन। तर बाइबलअनुसार ख्रीष्टियान हुनु भनेको चाहिँ येशू ख्रीष्टलाई आफ्‍नो पापहरू स्वीकार गरी प्रभु र मुक्तिदाताको रूपमा हृदयले विश्‍वास गर्नु हो। यसो गर्ने हो भने एउटा पापी व्यक्तिले परमेश्‍वरसँग मिलाप पाउन सक्छ र ऊसँग अनन्त जीवन हुन्छ। तर केवल बाहिरी रूपमा धर्म मात्र लिने हो भने अनन्त जीवन पाइदैन। तसर्थ साँचो ख्रीष्टियानहरूले येशू ख्रीष्टलाई विश्‍वास गर्छन् र यो विश्‍वासद्वारा तिनीहरू परमेश्‍वरबाटको धार्मिकता पाउँदछन्।

पहिलो कुरा, वास्तवमा भन्ने हो भने यो संसारमा एउटै पनि ख्रीष्टियान राष्ट्र छैन। कुनै पनि राष्ट्र ख्रीष्टियान राष्ट्र हुनाका निम्ति त्यहाँका शतप्रतिशत जनता ख्रीष्टियान हुनुपर्दछ।

दोस्रो कुरा, प्रायजसो देशहरूमा ख्रीष्टियान नेताहरू विरलै होलान्। किनकि प्रायः सबै नेताहरूको नैतिक चरित्र घिनलाग्दो भएको कुरा हाम्रा आँखाले देख्दै आएका छौं। जस्तो:- राजनितिमा झूट बोल्ने, आफ्‍नो कुर्सी र पदलाई बलियो बनाउन अनैतिक कार्यहरू गर्ने, जाँड र रक्सी खाने, आदि। यो त साँचो ख्रीष्टियानको चरित्र होइन। बाइबलले यो सिकाउँदैन। यस्तो प्रवृति भएका नेताहरूलाई कसरी ख्रीष्टियान नेता भन्न मिल्छ र?

तेस्रो कुरा, ख्रीष्टले दिनुभएको एउटा आज्ञा हो, आफ्‍ना शत्रुलाई पनि प्रेम गर। उहाँ बाइबलमा भन्नुहुन्छः हे प्रियहो, तिमीहरू आफैले बदला नलेओ, तर बरू क्रोधलाई ठाउँ देऊ; किनकि लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला दिनेछु, प्रभु भन्नुहुन्छ। यसकारण ‘तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खान देऊ; यदि त्यो तिर्खाउँछ भने त्यसलाई पिउनलाई पानी देऊ; किनकि यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाउनेछौं।’ खराबीसँग नहार, तर भलाइले खराबीलाई जित(रोमी १२:१९-२१)। तर एउटा ख्रीष्टियान सैनिक प्रहरीमा काम गर्छ भने उसले आफ्‍नो राष्ट्रको शत्रुसँग सरकारको निर्देशनमा रहेर लडाइँ गर्न सक्छ। आफ्‍नो राष्ट्रको सार्वभौम अधिकार बचाउनका लागि लडाइँ गर्नु उसको दायित्व हो। आफ्‍नो परिवार, धनसम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी उसलाई परमेश्‍वरले दिनुभएको छ। उदाहरणको लागि यदि कसैले उसको घर फुटाएर सरसामान चोर्न लाग्यो भने ऊ त्यसको प्रतिकारमा उत्रन सक्छ।

         बिनाकारण कुनै पशुपक्षीलाई मार्नु अनुचित कार्य हो। बाइबल अनुसार पशुपक्षी परमेश्‍वरको आनन्द र प्रयोगको लागि बनाउनुभयो। बुझ्नुपर्ने कुरा के छ भने पशुपक्षीमा मानिसहरूमा झैं आत्मा हुँदैन। आत्मा नभएको कारण पशुपक्षीहरू स्वर्ग पनि जाँदैन, नरक पनि जाँदैन। आफ्‍ना आहाराका लागि मानिसले उचित प्रकारले पशुपक्षीलाई मार्न सक्छन्। यसो गर्नु पाप होइन। तर मानिसलाई मार्ने सवालमा चाहिँ यो परमेश्‍वरको दृष्टिमा जघन्य अपराध हो। मानिसको विवेकले नै यो कुरा पुष्टि पार्छ। यदि कसैलाई पशुपक्षी मार्न मन लाग्दैन भने त्यो पनि ठीकै छ। त्यसमा विवाद गर्नु पर्ने कुनै कुरा छैन। दिनहुँ पसलमा खसी बोका, कुखुराको मासु बेच्‍न राखिएको देखिन्छ तर मान्छेको मासु देखिँदैन किन त भन्दा परमेश्‍वरले जनावर मानिसको आहाराको निम्ति बनाउनु भएकोले नै हो।

          एक मात्र सृष्टिकर्ता सार्वभौम परमेश्‍वरले बाइबलमा यसो भन्नुहुन्छः मेरो सामु तिम्रा अरू कुनै ईश्‍वरहरू हुनुहुँदैन। तिमीले आफ्‍ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनू, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वीमनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनू। तिमीहरूले तिनीहरूलाई दण्डवत नगर्नू, र तिनीहरूको पूजा नगर्नू(प्रस्थान २०:३-५)। अब कुरा गरौं टिकाको सन्दर्भमा- टिका लगाउने प्रचलन मूर्तिपूजाबाट आएको हो। प्रत्यक्ष-अप्रत्यक्षरूपमा टिकाले मूर्तिहरूसँग सम्बन्ध जोड्ने काम गर्छ। यही प्रचलनबाट नै टिकाको श्रृङ्गार निस्कियो। तसर्थ साँचो ख्रीष्टियानहरूले परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने भएकोले टिका लगाउँदैनन्।

          खास सबैले मुक्ति पाउन सक्छन्, किनभने सबै मानिसहरूले मुक्ति पाऊन् र सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ(१तिमोथी २:४)। तर त्यहाँ मानिसको आफ्‍नो भाग पनि छ। प्रभु येशूको मृत्युचाहिँ सारा संसारका सबै मानिसहरूका सम्पूर्ण पापहरू काट्नका लागि पर्याप्त छ। जब कुनै व्यक्तिले आफ्‍ना पापहरू स्वीकार गरी प्रभु येशूमाथि विश्‍वास गर्छ, तब मात्र उसले उहाँको मृत्युबाट लाभ उठाउँछ। तर उहाँले कसैलाई पनि कर गर्नुहुन्न। उहाँले खाँचो देखाउनुहुन्छ। त्यसपछिको खतरा देखाउनुहुन्छ तर निर्णय गर्ने काम तपाई र मेरै हो।

तपाईंको केही प्रश्‍न भए सोध्नुहोस्!