तपाईंले आफ्नो सम्पूर्ण अनन्तता
कहाँ बिताउनुहुनेछ?

कृपया ! तपाईंकै खातिर यसलाई वेवास्ता नगर्नुहोस्। यस लेखलाई समय लिएर ध्यानपूर्वक पढ्नुहोस्। नरकको अनन्त दण्डबाट कसरी उम्कन सक्छु र मृत्युपछि स्वर्ग नै जानेछु भनेर कसरी निश्‍चित हुन सक्छु भनेर थाहा पाउने यो नै तपाईंको एकमात्र र अन्तिम मौका हुनसक्छ।

धेरै मानिसहरू विचार गर्छन् कि मानिसहरू मरेपछि कहाँ जान्छन् भन्ने कुरा पक्का गरी जान्न सकिदैन। तर यो सोचाइ सत्य छैन ! परमेश्‍वरले आफ्नो वचन बाइबलमा भन्नुहुन्छ कि मानिसहरूले जान्न सक्छन् – १ यूहन्ना ५:१२–१३, “जससँग पुत्र हुनुहुन्छ, ऊसित अनन्त जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन। मैले तिमीहरूलाई अर्थात परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु – तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस्, र परमेश्‍वरका पुत्रको नाममा तिमीहरूले विश्‍वास गर।” मानिसहरू मरेपछि जाने केवल दुईवटा ठाउँहरू छन्; कि स्वर्ग, कि त नरक।

स्वर्गलाई आनन्दको ठाउँ भनिएको छ जहाँ सारा संसारका सृष्टिकर्ता रहनुहुन्छ। त्यहाँ कुनै पाप प्रवेश गर्नेछैन। पाप नभएको कारणले अहिले संसारमा जति पनि दुःखहरू छन्, रोगविमारहरू छन्, समस्याहरू छन् त्यहाँ कुनै पनि हुनेछैनन्।  बाइबलमा यसरी लेखिएको छ, प्रकाश २१:३–४– “अनि मैले स्वर्गबाट यसो भन्दै गरेको एउटा ठुलो आवाज सुनेः हेर, मानिसहरूसित परमेश्‍वरको निवासस्थान ! अनि उहाँ उनीहरूसित वास गर्नुहुनेछ, अनि उहीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफै उनीहरूसित हुनुहुनेछ र उनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले उनीहरूका आँखाहरूबाट सबै आँसु पुछिदिनुहुनेछ; मृत्यु कहिल्यै हुनेछैन, न ता शोक, न रुवाइ, न कहिल्यै पीडा नै हुनेछ; किनकि पहिलेका कुराहरु बितिसकेका छन्।” त्यसकारण संसारमा जति पनि समस्याहरू छन् त्यसको कारण पाप नै हो। यदि पाप छैन भने समस्या नै छैन।

नरकलाई पिडाको स्थान भनिएको छ। अनन्त पिडाको स्थान (नरक भन्ने भिडियो हेर्न सक्नुहुन्छ) जुनलाई आगो र गन्धक जलिरहेको ठाउँ पनि भनिएको छ। त्यस ठाउँमा पाप क्षमा नपाएका हरेक पापी जानेछन्। बाइबलले भन्छ कि सबैले पाप गरेका छन्, पापको ज्याला मृत्यु हो। पापको कारणले नै मृत्यु आयो, त्यसकारण हरेक मानिस नै मर्नुपर्छ। यसबाट कसैलाई पनि छुटकारा छैन। तर मानिससँग आत्मा र प्राण छ। शरिरको मृत्युपछि यो निस्कन्छ र त्यो जानुपर्ने ठाउँमा जान्छ; कि त नरक कि स्वर्ग।

मृत्युपछि कसरी स्वर्ग जान सक्छु त ? यसका निम्ति तपाईंले परमेश्‍वरको वचनबाट बुझ्नुपर्ने र विश्‍वास गर्नुपर्ने केही कुाहरू छन्।

१. तपाईंले परमेश्‍वरको विरूद्धमा पाप गर्नुभएको छ।

रोमी ३:२३– “सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमारहित हुनगएका छन्।” याकूब २:१०– “जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ।” १ यूहन्ना १:८– “हामीसँग पाप छैन भनी हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ, र हामीमा सत्य हुँदैन।”

२. परमेश्‍वर पवित्र अनि पापलाई घृणा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।

बाइबलले हबकूक १:१३ मा बताउँदछ– “तपाईंका आँखाहरू यति शुद्ध छन् कि तपाईंले दुष्टता हेर्नै सक्नुहुन्न।” भजन ५:४– “किनभने तपाईं दुष्टतामा आनन्द लिने परमेश्‍वर हुनुहुन्न, न ता तपाईंसित खराबी नै वास गर्नेछ।”

३. परमेश्‍वरको पवित्र स्वभावले सबै पापलाई दण्ड दिनैपर्छ भन्ने माग गर्दछ।

रोमी ६:२३-“किनकि पापको ज्याला मृत्यु हो।” विचार गर्नुहोस् सम्पूर्ण महिनाभरि कडागरि काम गर्ने व्यक्तिले काम गरे बाफत तलबको पाउँछ, र उसको कामको लागि उसले पाउने ज्याला भनेको पैसा हो। परमेश्‍वरले भन्नुहुन्छ कि तपाईंले तपाईंको पापको ज्याला कमाउनुभएको छ, र तपाईंको पापको लागि तपाईं जुन ज्यालाको लायक हुनुहुन्छ त्यो हो मृत्यु। त्यो भनेको तपाईंको शरीरको मृत्यु मात्र होइन। बाइबलले प्रकाश २०:१४–१५ मा भन्दछ-“मृत्यु र नरक आगोको झीलभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, त्यो आगोको झीलभित्र फ्याँकियो।” प्रकाश १४:१०–११-“त्यो आगो र गन्धकद्वारा पीडित पारिनेछ… र तिनीहरूको पीडाको धूवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ; तिनीहरूले दिनरात विश्राम पाउनेछैनन्।”

४. परमेश्‍वरले तपाईंको पापलाई घृणा गर्नुहुन्छ र त्यसलाई उहाँले दण्ड दिनैपर्छ, तरैपनि उहाँ तपाईंलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँ स्वयम् पृथ्वीमा मानिस बनी आउनुभयो र तपाईंले पाउनुपर्ने पापको दण्ड उहाँ आफैले नै लिनुभयो र क्रूसमा मर्नुभयो।

रोमी ५:८-“तर परमेश्‍वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” यशैया ५३:५-“उहाँ ता हाम्रै अपराधहरूका निम्ति घायल हुनुभएको थियो; उहाँलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो।” प्रिय मित्र, प्रभु येशू तपाईंको निम्ति मरिदिनुभयो। उहाँको निधार नै छेडिनेगरि लागइदिएको काँडाहरूको मुकुटलाई विचार गर्नुहोस्। उहाँको अनुहारका हड्डीहरूमा थुप्रै मानिसहरूले निर्दयी रूपले मुक्का हानेको कुरालाई विचार गर्नुहोस्। उहाँको शरीर छियाछिया नहोऊन्जेल उहाँको शरीरमाथि घरिघरि हिर्काइएका ती कोर्राहरूलाई विचार गर्नुहोस्। क्रोधित भीडले उहाँलाई गिल्ला गरेको र “त्यसलाई क्रूसमा टाँङ्नुहोस् ! त्यसलाई क्रूसमा टाङ्नुहोस् !” भन्दै चिच्याइरहेको सुन्नुहोस् । उनीहरूले उहाँको दाह्री लुछ्दै गरेको र उहाँको रगताम्मे, पिटिएको अनुहारमा थुकेको घटनालाई विचार गर्नुहोस्। उहाँलाई क्रूसमा टङ्ग्याइदैगर्दा उहाँका हातहरू र पाउहरूमा काँटी ठोकिँदाखेरि उहाँलाई कति साह्रो पीडा भयो सो कुरालाई विचार गर्नुहोस्। जब परमेश्‍वर पिताले संसारको पाप उहाँमाथि राखिदिनुभयो तब प्रभु येशूले सबैभन्दा भयानक दुःख भोग्नुभयो (यशैया ५३:६)। साँच्ची नै, येशूले अति नै दुःख भोग्नुभयो। तर उहाँले आफ्नै पापको लागि दुःख भोग्नुभएको होइन, किनकि उहाँले कहिल्यै पनि पाप गर्नुभएन। १ पत्रुस २:२२,२४-“उहाँले कुनै पाप गर्नुभएन…(तर) उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो।” येशू सम्पूर्ण संसारको पापको लागि मर्नुभयो; तर मित्र, तपाईंले यो थाहा गर्नैपर्छ कि येशूले यी सबै दुःखहरू तपाईंका पापहरूको लागि भोग्नुभयो। येशू ख्रीष्टले तपाईंको पापको लागि पूरा मूल्य तिर्नुभएपछि, उहाँले भन्नुभयो: “पूरा भयो” (पूर्णरूपले तिरियो) (यूहन्ना १९:३०)। त्यसपछि उहाँ एउटा चिहानमा गाडिनुभयो, तर तेस्रो दिनमा मरेकोबाट बोरैर उठ्नुभयो (जीवित हुनुभयो) (१ कोरिन्थी १५:४)।

५. तपाईं नरकबाट बच्न र स्वर्ग जान अरू केहीमा नभएर केवल येशूको मृत्युमा मात्र भरोसा गर्नुपर्छ।

यदि तपाईं असल भएर, असल कामहरू गरेर, दश आज्ञाहरू पालन गरेर, नियमित रुपमा मण्डली गएर वा अरू विविध कुराहरू जो तपाईं गर्दै हुनुहुन्छ त्यो तरिकाले स्वर्ग जान सक्नुहुन्छ भन्दै ती कुराहरूमा भरोसा गर्नुहुन्छ भने तपाईं निश्‍चय नै नरक जानुहुनेछ। यी कुराहरू असल कुराहरू हुन् तर ती कुराहरूले तपाईंलाई कहिल्यै पनि स्वर्ग लैजान सक्दैनन्। ख्रीष्टको मृत्युले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो (येशैया ५३:११)। येशू क्रूसमा मर्नुहुँदा उहाँले जे गरिदिनुभयो त्योद्वारा हामी बचाइदछौँ र त्योद्वारा मात्र। यदि हाम्रो असल कामले हामीलाई स्वर्ग लानेथियो भने येशू किन मर्नुभयो त !? गलाती २:२१ मा बाइबलले बताउँदछ – “किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो।” रोमी ३:२० – “यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन।” तितस ३:५ – “हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो।” यशैया ६४:६ – “तर हामी सबै अशुद्ध थोकजस्ता छौँ, र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्।”

६. अनन्त जीवन (स्वर्ग जानु) परमेश्‍वरबाटको उपहार हो। यसलाई जुन ग्रहण गर्नुपर्छ, कमाउन खोज्ने होइन।

रोमी ६:२३ – “परमेश्‍वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” यहून्ना १:१२ – “जतिले उहाँलाई (येशूलाई) ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो।”

७. अनन्त जीवन प्राप्त गर्न र नरकदेखि बचाइन तपाईंले येशू ख्रीष्टलाई तपाईंलाई बचाउन अनुरोध गर्नुपर्छ।

रोमी १०:१३ – “किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” जब तपाईंले आफूलाई बचाउन येशू ख्रीष्टलाई अनुरोध गर्नुहुन्छ तब दुई कुराहरू नभई हुँदैनः प्रेरित २०:२१ – “परमेश्‍वरतर्फको पश्‍चात्ताप र हाम्रा प्रभु येशू ख्रीष्टतर्फको विश्‍वास।”

१) पश्‍चात्ताप भनेको पापको विषयमा मनको परिवर्तन हो, तपाईंको पाप त्यति नराम्रो छैन भनेर सोच्नबाट तपाईंको मन बद्लनु हो र तपाईंको पाप पवित्र परमेश्‍वरको विरोधमा एक डरलाग्दो अपराध हो भनेर थाहा गर्नु हो। आफ्नो पापपूर्ण अवस्थालाई इमान्दारपूर्वक मानिलिन तपाईंले इच्छा गर्नुपर्छ। र तपाईंलाई ख्रीष्टकहाँ आउनबाट रोकिरहेको जुनै पनि कुरा किन नहोस् तपाईं त्यसबाट फर्कनुपर्छ। लूका १३:३ मा येशूले भन्नुभयो, “तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।”

२) विश्‍वास भनेको तपाईंलाई पाप र नरकबाट बचाउन र तपाईंलाई स्वर्ग लानलाई येशू ख्रीष्टमाथि मात्र भरोसा गर्नु (भर पर्नु) हो।

यदि तपाईंले यो लेख पढ्नु मात्र हुन्छ तर यसलाई गम्भिर भएर सोच्नु भएन र पश्‍चात्ताप र विश्‍वास गर्नुभएन भने तपाईं नरक जानुहुनेछ। तर यदि तपाईंले येशू ख्रीष्टमाथि भरोसा गर्नुहुन्छ भने उहाँले तपाईंलाई बचाउनुहुनेछ। अनि तपाईं निश्‍चित हुनसक्नुहुन्छ कि तपाईंले यस संसारमा आफ्नो अन्तिम सास लिएपछि तपाईं स्व‍र्ग जानुहुनेछ र तपाईंसँग “अनन्त जीवनको आशा हुनेछ, जसको प्रतिज्ञा झूट बोल्नै नसक्नुहुने परमेश्‍वरले संसार शुरु हुनुभन्दा पहिल्यै गर्नुभयो” (तितस १:२)।

प्रिय मित्र, तपाईं अहिले नै बचाइएको (नयाँगरि जन्मेको) येशू चाहनुहुन्छ ! २ कोरिन्थी ६:२ – “हेर, कृपादृष्टिको समय अहिले हो, हेर, मुक्तिको दिन अहिले हो।” तपाईं आजै मर्न सक्नुहुन्छ ! हितोपदेश २७:१ – “भोलिको विषयमा घमण्ड नगर; किनकि भोलिले के ल्याउँछ, सो तिमी जान्दैनौ।” तपाईंलाई आजै बचाइनदेखि रोक्न कसैलाई पनि वा कुनै कुरालाई पनि नदिनुहोस्। मर्कूस ८:३६ – “किनकि मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो प्राणचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ र ?”

 

परमेश्‍वरको वचनबाटको थप सहायताको लागि सम्पर्क गर्नुहोस्ः

इमेलः info@nepalgoodnews.com

फोन नं.: 9761846906, 9828567365