तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः
परमेश्वर
– वर्तमान युगमा मानवको स्थीति
– मानिसको पतन
– मृत्यु
– मानिसको आशा
– परमेश्वरको महान् न्याय – जलप्रलय
– बाबेल र भाषाहरूको शुरुवात
तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।
यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्नुहुनेछ (correspondence@nepalgoodnews.com)।
वर्तमान युग एकातर्फ भौतिक विकासको चरम अवस्थामा पुगेको युग हो भने अर्कोतर्फ अधर्मको चरम अवस्थाको युग। आज मानव समाजले भौतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरू गजव छन्। तर मानिसको आत्मिक तथा नैतिक अवस्था भने अत्यन्तै गिर्दो र भयावहपूर्ण छ। मानव समाज स्वेच्छाचारी, स्वार्थ, लोभ, घमण्ड, विश्वासघात, धोका, अशान्ति, द्वेष, झगडा, आत्माहत्या, युद्ध, विध्वंसले व्याप्त छ। मानिस आज आफ्नो स्वअस्तित्वको निम्ति संघर्षशील छ। मानव समाजमा साँचो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयमको अभाव छ। जसको प्रतिफलस्वरूप मानव समाज नितान्त खतरा अवस्थातर्फ अघि बढिरहेछ। यी सबको कारण के हो त?
पवित्रशास्त्र बाइबल परमेश्वरको वचनले मानव समाजको यस अवस्थाको वास्तविक कारण दिएको छ। आज मानवजातिको आत्मिकी र नैतिक अवस्था बुझ्न पहिले हामीले यो बुझ्नुपर्छ, किन मानिस असल गर्न भन्दा पाप गर्न अग्रसर हुन्छ? किन हामीले साना नानीहरूलाई सत्य बोल्नुपर्छ, दयालु, नम्र र ज्ञानी हुनुपर्छ, झगडा गर्नुहुन्न र लोभी हुनुहुन्न भनेर सिकाउनुपर्छ? तर हामीले उनीहरूलाई ढाँट्न, लोभी हुन, झगडा गर्न कहिल्यै सिकाउनुपरेन। सानै छँदै देखि नै नानीहरूको स्वभाव चाहिँ खराब गर्नु नै हुन्छ। तिनीहरूलाई बारम्वार असल गर्न सिकाइरहनुपर्छ। किन समाजमा मानिसलाई चोर्न, मार्न, व्यभिचार गर्न, झगडा गर्न बाट रोक्न कानुनहरू बनाइएका छन् त? किन मानिसको स्वभावले सजिलैसँग पाप गर्न पुग्छ? यी सबै कुराको कारण चाहिँ बाइबलले दिँदछ। त्यसैले बाइबलले के भन्दछ त, हेरौं।
परमेश्वरद्वारा सृजिएको मानिस परमेश्वरको प्रभुत्वमुनि खुशी र सुखी दुवै थिए। प्रथम परिवारका निम्ति सृजित सुख र संवृद्धिले सम्पन्न अदनको बगैंचा सुख, शान्ति र स्वतन्त्रताले मात्र होइन नैतिकता, इमान्दारिता र अनुशासनले पनि सम्पन्न थियो। परमेश्वरले प्रथम मानिसलाई यसो भन्नुभएकोबाट यस कुराको पुष्टि हुन्छ,
“बगैंचाको हरेक रूखबाट तिमिले स्वतन्त्रतापूर्वक खान सक्छौ; तर असल र खराबको ज्ञानको रूखबाट तिमीले नखानु! किनकि जुन दिन तिमीले त्यसबाट खान्छौ, त्यही दिन तिमी निश्चय मर्नेछौ।” (उत्पत्ति२:१६-१७)
शैतान र त्यसका दुतहरू सधैं परमेश्वरलाई घृणा गर्दछन् र उहाँका कार्य र योजनाहरूको विरूद्धमा खडा हुन्छन्। एकदिन शैतानले प्रथम स्त्री हव्वालाई परीक्षा गर्यो र परमेश्वरको विरूद्धमा उक्सायो। फलस्वरूप तिनले परमेश्वरको आज्ञालाई उलंघन गर्दै त्यस प्रतिवन्धित फल खाई र आफ्ना पतिलाई पनि दिई। तिनले पनि त्यो फल खाए र परमेश्वरको आज्ञा भंग गरे। प्रथम पटक मानिसले परमेश्वरको आज्ञा उलंघन गरेको थियो। यो नै पहिलो पाप थियो। परमेश्वरको आज्ञा विरूद्ध भएको कुनै पनि अनाज्ञाकारिता पाप हो। यो पहिलो अनाज्ञाकारिता पछि, पाप संसार र मानिसको हृदयमा पस्यो। फलस्वरूप मानिसको पतन भयो।
पतनपछि मानिसको जीवनमा अनेकौं दुर्भाग्यपूर्ण कुराहरू आए। प्रथमत: मानिस परमेश्वरसँगको असल र घनिष्ट सम्बन्ध अनि संगतिबाट अलग भए। मानिसमा लाज, भय, अशान्ति, द्वेष, घृणाको शुरूवात भयो। मानिसले पाप गरे र परमेश्वरले त्यस पापको दण्ड दिनुभयो। बाइबलले बताउँछ, पापको ज्याला मृत्यु हो। यदि हामी काम गर्छौं भने हामीले ज्याला पाउँछौं। हामीले काम गरेको कारण हामीले ज्याला पाउँछौं। पापसँग पनि यही कुरा सम्बन्धित छ। मानिसले पाप गर्छ र उसले पाउने ज्याला चाहिँ मृत्यु हो। परमेश्वरले भन्नुभयो,
“…जुन दिन तिमीले त्यसबाट खान्छौ (परमेश्वरले नखानु भनी भन्नुभएको रूखबाट) त्यही दिन तिमी निश्चय मर्नेछौ।”
प्रथम पटक मानिसले परमेश्वरको आज्ञा भंग गरेर नखानू भनी भन्नुभएको फल खाए पछि, मानिस मरे। मानिसको शारीरिक मृत्यु भएन। तर आत्मिक रूपमा तुरून्तै मरे। मृत्युको अर्थ “अलग हुनु” हो। आत्मिक मृत्यु चाहिँ परमेश्वरको संगतिबाट पूर्ण रूपले अलग हुनु हो। मृत्यु तीन प्रकारका छन्, आत्मिक मृत्यु, शारीरिक मृत्यु र अनन्त मृत्यु। मानिसले पाप गरे देखि नै उसले आत्मिक मृत्युको दण्ड पायो जुन चाहिँ अनन्त मृत्यु हो।
आत्मिक मृत्यु
मानिस पापको कारण तुरून्तै परमेश्वरबाट अलग भए। परमेश्वरसँगको सम्बन्ध र संगतिबाट मानिस अलग भए। मानिसको मन परमेश्वरको नियन्त्रण बाहिर गयो। आफ्नै शरीरप्रतिको तिनीहरूको विचारमा परिवर्तन आयो। संकोच, लाज, भयले तिनीहरूको हृदय भरियो। आफ्नो खाँचो पूरा गर्न आफैं कोसिस गरे। परमेश्वरले सृष्टि गर्नुहुँदा दिनुभएको सिद्ध र पापरहित हृदयमा आमूल परिवर्तन देखा पर्यो। पहिले परमेश्वरमा भरोसा गर्ने मानिस अब परमेश्वरबाट टाढा भाग्न र लुक्न थाले। आदम र हव्वा नाङ्गो अवस्थामा सृष्टि गरिएका थिए र तिनीहरू लजाउँदैनथे। तर तिनीहरूले पाप गरेर परमेश्वरको आज्ञा भंग गरेपछि तिनीहरू आफ्ना नाङ्गोपनमा लजाए र आफ्ना निम्ति आफ्नो शरीर ढाक्न नेभाराको पातको वस्त्र बनाए र लगाए। जुन वस्त्र उनीहरूको लाज ढाक्न अपर्याप्त थियो। पापले लाज उत्पन्न गराउँदछ। परमेश्वरले मानिससँग वातचित गर्न खोज्नुहुँदा मानिस र उनकी पत्नी परमेश्वरको भयको कारण लुकिरहेका थिए। यसरी परमेश्वरसँगको मानिसको सम्बन्ध टुट्यो। मानिस परमेश्वरबाट अलग भए। यो आत्मिक मृत्यु थियो।
शारीरिक मृत्यु
परमेश्वरले मानिससँग भेट गर्नुभयो र लेखा लिनुभयो। मानिसले आफूलाई निर्दोष ठहर्याउन स्त्रीमा दोषारोपण गर्यो। उनले स्त्रीले आफूलाई पाप गर्न लगाएको कुरा गर्यो। स्त्रीले पनि आफूलाई निर्दोष ठहर्याउन उनलाई परीक्षा गर्नेलाई दोष दिई। तर आज्ञा भंगको दोषी चाहिँ आदम थियो भनी परमेश्वर जान्नुहुन्थ्यो र त्यसैले परमेश्वरले सर्वप्रथम दण्ड चाहिँ आदमलाई दिनुभयो। त्यो दण्ड आदमको लागि मात्र थिएन तर आदमपछि जन्मने सबै मानिसको लागि पनि थियो। परमेश्वरले प्रथम जवाफदेही व्यक्ति प्रथम मानिसलाई उनको पापको कारण उनको शारीरिक जीवन कष्टमयी हुने र उनी शरीरमा मर्ने अनि माटोमा मिल्ने दण्ड दिनुभयो। फलस्वरूप प्रथम मानिस पृथ्वीमा अनेकौं दु:खद र कष्टमय दिनहरू बिताइ मरे र माटोमा मिले। उनको शरीरबाट आत्माको यो अलग हुवाइ नै शारीरिक मृत्यु थियो। त्यसरी नै प्रथम स्त्री, हव्वा पनि दण्डको भागी बनिन् र कष्टका दिनहरू बिताइ मरिन्। यो सबै पापको परिणाम थियो। किनकि परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरको नजरमा पाप ज्यादै घिनलाग्दो कुरा हो। किनकि परमेश्वर पूर्णरूपले धर्मी हुनुहुन्छ, उहाँले पापको दण्ड दिनैपर्छ।
अनन्त मृत्यु
पापको फलस्वरूप मानिस सदालाई परमेश्वरबाट अलग हुनुपर्दथ्यो। मृत्यु पछि पापी मानिस नरकमा फालिन्छ। त्यो सदालाई अलग हुने स्थान थियो जो शैतान र त्यसका दूतहरूलाई पिडा दिन तयार पारिएको थियो। मानिसलाई पापको दण्ड स्वरूप परमेश्वरले पापी मानिसलाई यस नरक भनिने ठाउँमा पठाउनुहुन्छ।
यसरी मानिस परमेश्वरबाट पापको कारण अलग भए। सृष्टिकर्ता परमेश्वरको संगतिबाट मानिसको सम्बन्ध टुट्यो। जस्तो लेखिएको छ,
“तिमीहरूका अधर्महरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग पारेका छन्।”
पतनपछि मानिसको प्रथम परिवारलाई अदनको सम्पन्न र सुखी बगैंचाबाट परमेश्वरले धपाउनुभयो र मानिस बगैंचा बाहिरका कठोर जीवनमा जीविकाका निम्ति जिउन बाध्य भए। मानिसको सन्तान निरन्तर पापमा जिउन थाले। प्रथम मानिस आदमबाट सारा मानिसमा पाप ब्याप्त भयो अनि मृत्यु पनि। जस्तो लेखिएको छ,
“यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो, र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो; किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२)
जन्मिएका हरेक बालक निरन्तर पापमा जिउन थाले। प्रथम मानिस आदमबाट सम्पूर्ण मानव जगतमा पाप फैलियो। हत्या, हिंसा, भय, आतंकले पृथ्वी भरियो। वर्तमान युगको नैतिक पतनको कारण मानव पतनकै प्रतिफल हो।
के अब उसो मानिसको कुनै आशा छैन? निश्चय नै छ। यद्यपि परमेश्वरले प्रथम परिवारलाई पापको ज्यालास्वरूप इन्साफको घोषाण गर्नुभयो, उहाँले साथसाथै तिनीहरूका पाप क्षमाको निम्ति एउटा बाटो पनि बनाइदिनुभयो। परमेश्वरले बलिदानद्वारा मानिसको पाप-क्षमा गर्न योजना बनाउनुभयो। पापी मानिसले पाउनुपर्ने दण्ड त्यस निर्दोष बलिदानले लिनेछ र परमेश्वरले पापीलाई क्षमा दिनुहुनेछ र पापबाट उसको हृदयलाई धुनुहुनेछ।
जब अदनको बगैंचामा मानिसले परमेश्वरको आज्ञा उलङ्घन गरे र आदम र हव्वा आफ्नो नाङ्गोपनाको कारण लाजमा परे, त्यसपछि परमेश्वरले मानिस र उनकी पत्नीका शरीर ढाक्न निर्दोष जनावरहरूको बलिदान गर्नुभयो र ती जनावरहरूका छालाबाट वस्त्र बनाई तिनीहरूका नग्नता ढाक्नुभयो। यसबाट परमेश्वरले मुक्तिको मार्ग मानिसलाई देखाउनुभयो। कसरी? ध्यान दिएर पढ्नुहोस्! परमेश्वरबाट अपराधहरूको क्षमा र मुक्तिको निम्ति निर्दोष व्यक्तिको बलिदान हुनु जरूरी छ। यो चाहिँ आउनेवाला उद्धारकर्ताको सम्बन्धमा महत्त्वपूर्ण सत्यता थियो। उद्धारकर्ता जो कन्याबाट जन्मनुहुनेछ। उहाँ मानिसहरूको पापहरूको सट्टामा बलिदान बन्नुहुनेछ। उहाँमा विश्वास गर्नेहरू बचाइनेछन्। तिनीहरूका पापका कारण अनन्त दण्डबाट। उहाँ नआउञ्जेल मानिसले परमेश्वरमा र उहाँको उद्धारको मार्गमा विश्वास गरी उद्धारकर्ताको चित्रणको रूपमा निर्दोष पाठोको बलिदान पापबलिको रूपमा परमेश्वरमा चढाइ परमेश्वरसँग मिलापमा आउन सक्थे र उनीहरू धर्मी ठहरिन सक्दथे।
अब प्रश्न उठ्छ – परमेश्वरले प्रतिज्ञा गर्नुभएको उद्धारकर्ता को हुनुहुन्छ? के उहाँ आइसक्नुभयो? कि आउदैहुनुहुन्छ? अनि उद्धार पाउन मानिसले के गर्नुपर्दछ? यी प्रश्नहरूका जवाफको सम्बन्धमा हामी आगामी पाठहरूमा अध्ययन गर्नेछौं।
प्रथम परिवारको जीवन बगैंचा बाहिर निक्कै चुनौतिपूर्ण रह्यो। थोरै समयहरूपछि नै परिवारमा हत्याको अप्रिय घट्ना देख्नुपर्यो। आफ्नो जेठा छोराले प्रिय कान्छो छोरालाई मारे। यसले उनीहरूलाई जीवनपर्यान्त शोकित र दु:खित तुल्यायो। प्रथम परिवारको सन्तानहरूको संख्यामा अत्यन्तै वृद्धि भइरहेको थियो। तर उनीहरूको दुष्टता पनि उत्तिकै बढिरहेको थियो, जस्तो लेखिएको छ,
“तब परमप्रभुले पृथ्वीमा मानिसको दुष्टता ज्यादा भएको र त्यसको हृदयका विचारहरूको हरके कल्पना निरन्तर खराबै मात्र भएको देख्नुभयो।” (उत्पत्ति ६:५)
मानव समाज स्वार्थ, घमण्ड, ईष्र्या, लोभ, द्वेष, झगडा, युद्ध र संहारहरूले भरिएका थियो। तसर्थ परमेश्वरले मानिसलाई तिनीहरूका अपराधहरूका कारण पूरै नाश गर्ने निश्चय गर्नुभयो। तर नूह नामक मानिस परमेश्वरको साथ-साथ हिंड्ने धर्मी मानिस थिए। उनलाई बाहेक सबैलाई नाश गर्ने निश्चयता परमेश्वरले लिनुभयो। कसरी नूह धर्मी भए?
नूह परमेश्वरले देखाउनुभएको मार्गमा आए। उनले परमेश्वरमा र बलिदानद्वारा परमेश्वरकहाँ आउनुपर्छ भन्ने परमेश्वरको एकमात्र मार्गमा विश्वास गरे। त्यसैले उनी धर्मी ठहरिए। परमेश्वरले नूहलाई विश्वमा महा-इन्साफ जलप्रलय ल्याउने र उनलाई अनि उनको परिवारलाई बचाउने प्रतिज्ञा गर्नुभई एक विशाल पानीजहाज बनाउने आज्ञा दिनुभयो। परमेश्वरले दिनुभएको विवरण बमोजिम नूह र उनको परिवार अनि पृथ्वीका सबै पशु तथा पक्षीहरूका एक-एक जोडी अट्न सक्ने विशाल जहाज तयार पारियो। तब परमेश्वरले आफ्नो समयमा पृथ्वीमा जलप्रलय ल्याउनुभयो। नूह र उनको परिवार अनि जहाजभित्रका पशु पक्षीहरू बाहेक पृथ्वीका सारा प्राणी नाश भए। नूहद्वारा परमेश्वरको निर्देशनमा तयार पारिएको विशाल जहाजले आउनेवाला उद्धारकर्ताको चित्रण दिंदथ्यो। जहाजमा एक मात्र ढोका थियो। त्यसभित्र जाने अर्को बाटो थिएन। महा-इन्साफबाट बच्न नूहले निरन्तर प्रचार गरिरहे तापनि कोही पनि परमेश्वरतर्फ पश्चात्ताप गरी आएनन्। जब समय पूरा भयो परमेश्वर आफैंले जहाजको ढोका बन्द गरिदिनुभयो। जहाजभित्र हुनेहरू परमेश्वरको इन्साफबाट पूर्ण सुरक्षित थिए। किनकि इन्साफको मार जहाजभित्रका मानिसहरूको सट्टामा जहाजमाथि परिरहेको थियो। जहाज सक्षम र बलियो थियो जसले एक वर्षसम्म लम्बिएको इन्साफबाट त्यसमा आश्रित मानिस तथा सबै प्राणीहरूलाई पूर्ण सुरक्षा दियो।
यस जहाजले आउनेवाला उद्धारकर्ताको चित्रण गर्दथ्यो। आउनेवाला उद्धारकर्ता पनि परमेश्वरकहाँ जाने एकमात्र बाटो हुने र उहाँमा विश्वास गरी उहाँमा रहनेहरू परमेश्वरको क्रोधबाट बच्नेवाला थिए। यो विश्व जलप्रलयको घटना वास्तविक रूपमा इतिहासमा भएकै थियो। जाति-जातिहरूका प्राय: ऐतिहासिक कथाहरूमा महा-जलप्रलयबारे चर्चा भएको कुराबाट यस कुराको पुष्टि हुन्छ। साथै यस जलप्रलय सम्बन्धमा परमेश्वरको पुस्तक बाइबलमा लामो विवरणका साथ उल्लेख भएको छ।
जलप्रलयपछि नूहका तीन छोराहरूबाट पृथ्वीमा जनसंख्या पुन: विशाल बन्न गयो। परमेश्वरले नूह र उनका छोराहरूलाई यस्तो आशिष र आज्ञा दिनुभएको थियो,
“फल्दै-फुल्दै, संख्यामा बढ्दै जाओ र पृथ्वीलाई भरिदेओ!” (उत्पत्ति ९:१)
परमेश्वरको यस आज्ञा अनुसार मानिस पृथ्वीमा भरिदै जानुपर्दथ्यो। त्यसबेला मानिसमा एक मात्र भाषा थियो। मानिसले परमेश्वरको वचनको विरूद्धमा अर्को ठूलो विद्रोह गरे। उनीहरूले यसो भने,
“आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऔं; र आफ्ना निम्ति एउटा नाम कमाऔं, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितरबितर हुनेछौं।” (उत्पत्ति११:४)
यस मत अनुसार मानिसले एक उच्च धरहरा बनाउन थाले। यो चाहिँ परमेश्वरप्रतिको अविश्वास र विद्रोह थियो। उनीहरूले परमेश्वरलाई र उहाँको उद्धारको मार्गलाई इन्कार गरे र आफ्नै सामर्थ्यले स्वर्ग जाने मार्ग खडा गर्ने प्रयास गरे। साथै पृथ्वी ढाक्दै जानुपर्ने परमेश्वरको आज्ञालाई तोडी एकै स्थानमा रहने योजना बनाए। तब के भयो? के मानिस सफल भए?
परमेश्वरले मानिसको यस दुष्टताको यसरी इन्साफ गर्नुभयो। उहाँले मानिसहरूमा भाषाको खलबल गरिदिनुभयो। र मानिसहरू भिन्न-भिन्न भाषाहरू बोल्न थाले र तिनीहरूका योजना पूर्ण रूपमा असफल भयो। मानिसले त्यस कार्यलाई बन्द गर्न बाध्य भए र पृथ्वीका चारैतर्फ छरपुष्ट भए। आजका विभिन्न भाषाहरू र जाति-जातिहरूका शुरूवात यसरी भएको थियो। परमेश्वर नै पृथ्वीका अधिपति र मालिक हुनुहुन्छ। पृथ्वी उहाँद्वारा र उहाँकै निम्ति सृजिएको हो। परमेश्वर धन्यको हुनुहुन्छ।
(हरियाली डाँडाको काखमा छरिएर रहेको एउटा गाउँ। बीचमा आँखी झ्यालहरू सजाइएको एक रातो घर। आँगनमा बिस्कुन अनि छेवैमा माइली आमा हेमन्ताली जाडोको सामनामा दिउँसोको मीठो पार ताप्दै। बीचैमा कमलको अभिवादन।)
कमल: नमस्कार आमा !
आमा: नमस्कार कमल बाबु ! बाबुलाई सम्झिराथें, आइपुग्नुभो, बेस भो बाबु। बाबुले अस्तिय दिनां शास्तरको ठूलो ज्ञान हालिदिनुभो मेरो दिमाखमा। मैले त्यसको बारेयं खुबै सोचें अनि चित्त बुझ्यो बाबु मेरो। मरेकालाई जिउँदाले पाल्नु भनेको सही होइन रच बाबु।
कमल: हो आमा हो। आमाले ठीक कुरा गर्नुभयो।
आमा: हिजो म पल्लो टोलको हाम्रो पुरेत बाजेभएको ठाउँमा गइरथें। उनी त अचेल धनी भएचन्। दुधै वेचेर धनी भएचन्। दुई छोराहरू बिहान-बिहान दुध बेच्दारचन्। गाईहरू पनि अघोरै दुधालुहरू परेचन्। कस्ता गाई रचन् त त्यस्तरी दुध दिने भनी हेर्न गोठमा गा’त पोहोर बुढाँ लाई मैले दान दिएकी माली गाई र पारीको बलेले आफ्नो बाउको लागि दान गर्या सेती गाई पो रचन्। पुरेतले भन्ने वेलाँ भन्ते, दान दिएको गाईको दुध पुरेतले खाए परलोकका मेरो बुढाले खान पाउचन् भनेर। किन हुन्थ्यो दुध त पैसाको निम्ति दुनियाँलाई पो बेच्तारचन्। मलाई त झूटा लाग्यो बाबु यस्तो चलन।
कमल: आमाको यो राम्रो अनुसन्धान भयो। साह्रै चित्त बुझ्यो। आमा पनि अब एक सचेत नागरिक बन्नुभएछ। कुरिती, अन्धविश्वास, भनेकै यस्तै-यस्तै फजुल र गलत चलन चल्तीहरू हुन् आमा। यसमा नता हामी जिउँदालाई केही लाभ छ नता मरेकालाई नै। यो त बीचका यस्तै तत्त्वहरूलाई पोष्याउने काम मात्र हो आमा। घरमा आफ्नो मृतकको निम्ति रूवाबासी र शोकको घडीमा सान्त्वना र सहायता दिनँ त कहाँ, उल्टै धन-सम्पत्ति बोक्नलाई नाम्लो कसेर आउनलाई कसैलाई कत्रो हतार। धेरैलाई रूवाए यस्ता फजुल चलनले आमा।
आमा: अब भन्नुस् कमल बाबु तपाई त विद्वान हुनुहुन्छ, ज्ञानी विचारी हुनुहुन्छ। हामीले कस्ता-कस्ता काम र धर्म गरे परलोकमा सुख होला?
कमल: सही प्रश्न राख्नुभो आमाले। अब हामीले यस विषयमा पनि छलफल गरौं। ईश्वरको अस्तित्वलाई हामीले इन्कार गर्न सक्दैनौं। मानिसको विवेकमा सुषुप्त रूपमा यो गवाही रहिरहेको हुन्छ कि त्तपाईं परमेश्वर हुनुहुन्छ। यही कारणले विश्वका सबै मानिसहरू कुनै न कुनै रूपमा ईश्वरको खोजी र पुजनमा रहिरहेका हुन्। मानिसको विवेकबाट ईश्वरको अस्तित्वमाथिको विश्वासलाई कसैले र केही कुराले मेटाउन सकिदैन।
आमा: हो बाबु यो सही कुरा हो। मेरो मनाँ पनि ईश्वर भगवान छ। दु:खाँ म उनै ईश्वरलाई पुकार्छु बा।
कमल: सही कुरा गर्नुभो आमा। फेरि सृष्टिले पनि ईश्वरको अस्तित्वलाई पुष्टि गरेको छ। धर्तीमा सबै प्राणी तथा वनस्पतिहरूमा जुन गजवको प्रकृया र जीवन चक्रहरू छन् ती नियमित आस्कस्मिकता नभई ईश्वरको बुद्धि र नियन्त्रण हो। त्यसरी नै आकाश मण्डलका सूर्य, चन्द्र, तारागणको अवस्थिति र गति पनि नियमित आकस्मिकता होइन अर्थात् आफै त्यस हिसाबले बनिन र रहन गएका होइनन्। त्यत्तिका विशाल घाम किन सधैं उही हिसाबमा उदाउने अस्ताउने गरिरहेछ? किन त्यसमा कुनै गड्बढी छैन? यो चाहिँ ईश्वरको सृष्टि र नियन्त्रण हो आमा।
आमा: हो बाबु हो। संसारलाई उज्यालो पार्ने घाम दिनै नविराइ उदाउनु भनेको मामूली कुरो होइन। फेरि जून पनि क्यारी मिलाएर औंसी पुर्णे अर्चन्? यो ईश्वरकै काम हो बाबु।
कमल: ईश्वर हुनुहुन्छ। निश्चय उहाँ असल, पवित्र हुनुहुन्छ। उहाँ शाक्तिशाली र बुद्धिमान हुनुहुन्छ। तर हामी मानिस ठीक उल्टा छौं। जे काम गर्न हुँदैन भन्छौं त्यही हामी गर्छौं। जे गर्नुपर्छ भन्छौं त्यही गर्दैनौं।
आमा: हो त। मैले पनि आफ्नो बानी व्यहोरा सुधार्न आफैंले धेरै बल गरें बाबु तर सकिंदोरहिन्च बाबु। मैले यी हातमा पञ्चधातु बाला लगाएको छु। मलाई अरूले भनेथे कि यस्तो बाला लगाएमा पाप गरिन्न। पाप गर्न अघि बाला हेर्नुपर्छ। बाला लगाएर कहिल्यै झूटो बोल्नुहुन्न, लोभ गर्नुहुन्न भनेर मलाई सम्झाएथे। तर कहाँ सकिंदो रचर बाबु। रिस उठेपछि त बाला न साला सबै देख्न छाड्दो रच बाबु। लोभले कहिल्यै नछोड्ने रच। म त पापी नै हुँ बाबु।
कमल: सही कुरो गर्नुभयो आमाले। आफ्नै कोसिसले हामी कहिल्यै स्वर्ग जान सक्दैनौं। हामी आफ्नै बलले धर्मी बन्नै सक्दैनौं। चौवीसै घण्टा “मने पेमे” गर्नेमा पनि पाप छँदैछ, तीर्थ-वर्त, दान-दक्षिणा गर्नेमा पनि पाप छ। तातोपानी, चिसोपानीमा नुहाएर, पञ्चाग्नी तापेर, शरीरलाई कष्टमा पारेर जिउनेहरूमा पनि पाप छ। पाप हृदयभित्र बसेको हुन्छ। केले फाल्न सक्थ्यो हृदयको पापलाई। कसै कसैले चोर्ने, पाप गर्ने हात भनी दायाँ हातलाई सूर्यलाई चढाइ सधैं ठाडोको ठाडै राखेर काठसरी सुकाउँछन्। तर किन जान्थ्यो पाप। पाप त हातमा होइन हृदयभित्र गाडिएर रहेको हुन्छ। भन्नोस् न मानिसभित्रको खराब विचारलाई केही गरेर हटाउन सकिन्छ र?
आमा: ठीक कुरा गर्नुभाहो बाबुले। मनाँ कुरालाई कल्ले पो निकाल्न सउच र? हे ईश्वर!
कमल: अब तपाई हामीले बरू त्यो साँचो ईश्वरलाई चिन्नु र उहाँको योजना बुझ्नु खाँचो छ आमा।
आमा: हो बाबु हो। बाबुले मलाई गुरूले नदिएको ज्ञान हालिरनुभाह। मलाई सिकाउनुस् बाबु। उमेरले त बाबु छोरो हो तर ज्ञानले गर्दा गुरू हुनुभाह। (गाईहरू कराउन थाल्छन्।) डिंगा कराउन थालिगो बाबु। यिनलाई एकछिन चरनमा डुलाएर ल्याउनुपर्छ बाबु। फेरि पनि यस्तै बेलाँ आउनू बाब।
कमल: हुन्छ आमा म फेरि पनि फुर्सत मिलाएर आउँछु। नमस्कार आमा।
आमा: नमस्कार बाबु नमस्कार। हे ईश्वर प्रभु !
(नाटकको तेस्रो खण्ड आगामी पाठमा)