तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः
१. परमेश्वर
– परमेश्वरको अस्तित्व
– परमेश्वरको प्रेम
– परमेश्वरको पवित्रता
२. मानिस
३. ख्रीष्ट येशू
४. तपाईको भाग
– विश्वास र पश्चात्ताप
तपाईंले यस्ता थुप्रै विषयहरूको बारेमा रहेका बाइबलका शिक्षाहरू यस पाठमा प्राप्त गर्नुहुनेछ।
यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्नुहुनेछ (correspondence@nepalgoodnews.com)।
परमेश्वरको अस्तित्व
परमेश्वर हुनुहुन्छ। हामी उहाँको अस्तित्वलाई सृष्टि, विवेक र परमेश्वरको वचन बाइबलबाट बुझ्न सक्दछौं। उहाँ सम्पूर्ण सृष्टि र जीवनका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले सृष्टिको नियममा हामी अचम्मको बुद्धि देख्छौं। कसरी पानी निरन्तर समुद्रतिर बग्दछ अनि समुद्रको पानी बाफ बनेर माथि गइ फेरि हिमाल र पहाडहरूमा पुन पानी नै बनी बर्षदछ। अनि साना ठूला खोला, नदी हुँदै पुन: त्यही समुद्रमा फर्कदछ। यो एक अचम्मको नियम हो। विशाल आकाशमा हेरौं, चन्द्रमा नियमित रूपमा पृथ्वीलाई चक्कर मारिरहेछ। चन्द्रमासित पृथ्वीले सूर्यलाई चक्कर मारिरहेछ। सूर्य पनि ग्रहहरू र तिनका चन्द्रमाहरूका साथ तारापुञ्ज केन्द्र वरिपरि घुमिरहेछ। त्यस्ता थुप्रै तारापुञ्जहरू विशाल आकाश मण्डलमा छन्। आकाश मण्डलमा अथाहा बुद्धि र शक्ति निहित छ। यो कसको बुद्धि र शक्ति हो ? परमेश्वरको। उहाँले नै यी सबै सृष्टिका थोकहरूलाई सृष्टि गर्नुभयो। अनि उहाँमा नै ती अडिएका छन्। जस्तो लेखिएको छ: “किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरू उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्; अनि सबै कुराहरूका अघि उहाँ हुनुहुन्छ; र सबैकुराहरू उहाँद्वारा नै स्थिर रहन्छन्।” (कलस्सी १:१६-१७)।
तसर्थ सृष्टिमा परमेश्वरको अस्तित्व देख्न सकिन्छ। जस्तो लेखिएको छ, “संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् – सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।
मानिसको विवेकले पनि सृष्टिकर्ता परमेश्वरको अस्तित्वलाई स्वीकार्दछ। सारा विश्वभरि मानिसहरू उही नैतिक नियमहरूलाई स्वीकार गर्छन्। जुनसुकै भाषा, जाति, संस्कृति वा भौगोलिक स्थिति होस्, सबै ठाउँमा बाबु आमाको आज्ञा नमान्नु, हत्या, व्यभिचार, झूटो बोली, चोरी, लोभ आदिलाई गलत मानिन्छ।
उक्त तथ्यले यो देखाउँछ प्रत्येक मानिस ठीक र बेठीक छुट्ट्याउन सक्ने परमेश्वरबाट प्राप्त एक आत्मिक ज्ञानेन्द्रिय अर्थात् विवेकद्वारा सुसज्जित छ। बाइबलबाटै परमेश्वरका नैतिक नियमहरू कहिल्यै नसुनेका मानिसहरूको हृदयहरू अर्थात् विवेकमा ती नियमहरू लेखिएका छन् भनी बुझ्न सकिन्छ। “किनभने जब अन्यजातिहरूले जससँग व्यवस्था छैन, स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्दछन्, तब तिनीहरूसँग व्यवस्था नभए तापनि तिनीहरू आफ्नो निम्ति आफै व्यवस्था हुन्छन्, तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्, तिनीहरूको विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले आपसमा दोषी वा निर्दोष ठहराउँछन्” (रोमी २:१४-१५)। तसर्थ मानिसको विवेकले एक नियमदाता अर्थात् परमेश्वरको अस्तित्वलाई स्वीकार्दछ।
त्यसैले विश्वका कुनैपनि स्थान र समाजका मानिसहरूमा परमेश्वरलाई खोज्नेहरू प्रशस्त पाइन्छन्। मानिसहरूको विवेकले ईश्वरको अस्तित्वलाई स्वीकारेको छ। जस्तोसुकै नास्तिकवाद लादिएको समाजमा पनि ईश्वरलाई खोज्नेहरू पाइन्छन्। मानिसमा पाइने ईश्वरलाई खोज्ने गुण प्राकृतिक गुण हो, कृतिम होइन। बरू नास्तिकवाद कृतिम हो जसमा मानिसको विवेक विरूद्ध विश्वास गर्न बाध्य तुल्याइन्छ।
परमेश्वरको अस्तित्वलाई बुझाउने तेस्रो महत्त्वपूर्ण आधार बाइबल हो। जसले परमेश्वर हुनुहुन्छ भनी स्पष्टसाथ उल्लेख गरेको छ बाइबल अद्भूत अनि अद्वितिय पुस्तक हो। परमेश्वर आफै नै यसका लेखक हुनुहुन्छ। बाइबलको शुरूमा लेखिएको छ; “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१)
परमेश्वरको प्रेम
परमेश्वर प्रेम हुनुहुन्छ। १ यूहन्ना ४:८ मा लेखिएको छ, “जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ।” परमेश्वरको प्रेम मानिसको प्रेम भन्दा फरक छ। मानिसले प्रतिज्ञाहरू गर्छन् तर उसका प्रतिज्ञाहरू अधुरा हुन्छन्। उनका विचार र भनाइहरू पछि परिवर्तन हुन्छन्। मानिसको प्रेममा सिद्धता हुँदैन, पूर्णता हुँदैन। धेरै पटक मानवीय प्रेममा स्वार्थ लुकेको हुन्छ। प्रेम पछि धोका पाएका उदाहरणहरू मानव समाजमा प्रशस्त देख्न पाइन्छ। मानवीय प्रेममा धेरै त्रुटीहरू हुन्छन्। तर परमेश्वरको प्रेम सिद्ध छ। उहाँको प्रेममा कुनै त्रुटी हुँदैन। उहाँको प्रेममा रहिरहने व्यक्ति सुखी र खुशी हुन्छन्। उहाँको प्रेममा जीवन छ। आनन्दको भरपूरी छ, उहाँको प्रेममा विजय र पूर्ण सन्तुष्टि छ। परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले तपाईलाई अनन्तताको सुख र खुशी दिन चाहनुहुन्छ। परमेश्वर तपाईलाई सदाका निम्ति आफ्नो साथमा राख्न चाहनुहुन्छ। परमेश्वरको प्रेम कति महान् !
परमेश्वरको पवित्रता
परमेश्वर पवित्र हुनुहुन्छ। पवित्र भन्नाले “अलग रहनु” भन्ने बुझिन्छ। उहाँ दुई प्रकारले अलग हुनुहुन्छ। पहिलो, सृष्टिकर्ता परमेश्वर आफूले सृष्टि गर्नुभएका सब थोकदेखि अलग हुनुहुन्छ। उहाँ कहिल्यै बदलिनुहुन्न। उहाँ आफ्नो सृष्टिभन्दा महान् अनि उच्च हुनुहुन्छ। बाइबलले भन्दछ, “सदासर्वदा जीवित हुनुहुने, उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु।” (यशैया ५७:१५)। दोस्रो, उहाँ सब पापपूर्ण कुराहरूदेखि अलग हुनुहुन्छ। उहाँले कहिल्यै पाप गर्न सक्नुहुन्न। कहिल्यै झूट बोल्न सक्नुहुन्न। उहाँ पवित्र हुनुहुन्छ, जस्तो लखिएको छ; “पवित्र, पवित्र, पवित्र प्रभु सर्वशक्तिमान परमेश्वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र आउनुहुनेछ” (प्रकाश ४:८)। परमेश्वरमा पाप नहुने मात्र होइन तर परमेश्वरले पापलाई पूर्ण रूपमा घृणा गर्नुहुन्छ। पापको विरूद्धमा उहाँ इन्साफ गर्नुहुन्छ। पापीहरू परमेश्वरको उपस्थितिमा जान तथा रहन सक्दैनन्। त्यसैले तपाई यही अवस्थामा परमेश्वरको सङ्गतिमा रहन सक्नुहुन्न। परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नुहुन्न तर बरू परमेश्वरको भयानक दण्डमा पर्नुहुनेछ। त्यो दण्ड अनन्त अग्नीकुण्ड हो जुन दोस्रो मृत्यु हो। जस्तो लेखिएको छ, “पापको ज्याला मृत्यु हो” (रोमी ६:२३)। “सत्यलाई अधर्ममा दबाइराख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ” (रोमी १:१८)। किन यस्तो गरिन्छ ?
मानिस स्वभावैले परमेश्वरबाट अलग भएको अवस्थामा जन्मिएको हुन्छ। जसको प्रतिफल मृत्यु हो। मृत्यु प्रथम मानिसको पतनको कारणले गर्दा नै आएको हो। मानिस सबै नै पापी छन्। जस्तो लेखिएको छ; धर्मी कोही छैन, एउटै पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। तिनीहरू सबै बाटोदेखि भड्किएका छन्; तिनीहरू एकैसाथ बेकम्मा भएका छन्; असल गर्ने कोही छैन, एउटै पनि छैन। सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन् (रोमी ३:१०-१२, २३)। तसर्थ मानिस सबै नै स्वभावैले परमेश्वरको दण्ड मुनि छन्। त्यसो भए केही उपाय छ त ?
परमेश्वरको योजनामुताविक ख्रीष्ट येशूको आगमन भएको हो। उहाँ मानिसहरूलाई जीवन दिई बचाउन आउनुभएको हो। जस्तो लेखिएको छ; “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। ख्रीष्ट येशू पवित्रशास्त्र बाइबलमा अघिबाटै उल्लेख भएअनुसार मानिसहरूका पापहरूका निम्ति मर्नुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा पुन: जीवित हुनुभयो। जस्तो लखिएको छ; “पवित्र-शास्त्रहरूमुताविक उहाँ तेस्रो दिनमा बौराइनुभयो” (१ कोरिन्थी १५:३-४)। तपाईको निम्ति ख्रीष्ट मर्नुभएको छ। उहाँमा तपाईका पापहरूको क्षमा छ। त्यसो भए मुक्ति पाउन तपाईले के गर्नु आवश्यक छ?
विश्वास
“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। यस खण्ड अनुसार मुक्तिको निम्ति तपाईको भाग मुक्तिदाता ख्रीष्ट येशूमा विश्वास गर्नु हो। विश्वास गर्ने कोही पनि नष्ट हुनेछैन। रोमी १०:९ पदमा उल्लेख गरिएको छ, “यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ।” मुक्ति पाउनको निम्ति तपाईले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछ। कस्तो प्रकारले विश्वास गर्ने ? येशूको मुक्ति र पुनरुत्थान तपाईको पापको छुटकाराको निम्ति भएको हो भनी विश्वास गर्नु पर्दछ। उहाँ तपाईको प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्दछ। यही विश्वास र स्वीकारद्वारा तपाईले पापहरूको क्षमा पाउनुहुन्छ। जस्तो लेखिएको छ, “किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ” (रोमी १०:१३)।
विश्वासको सम्बन्धमा येशूले दिनुभएको शिक्षा
पित्तले साँप
विश्वासको सम्बन्धमा स्पष्ट पार्न येशूले एक तथ्यलाई अघि सार्नुभयो, “जसरी मोशाले उजाडस्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनुपर्छ, “यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१४-१६)। मोशाले उजाडस्थानमा साँपलाई उचाले भन्ने विषय बुझ्न यसबारे उल्लेख भएको बाइबल खण्डमा यस्तो लेखिएको छ,
“अनि उनीहरू एदोमको देशलाई फेरो मारेर जान भनी होर पहाडबाट लाल समुद्रको बाटो भएर हिँडे; अनि बाटोले गर्दा मानिसहरूको मन साह्रै अधीर भयो। तब ती मानिसहरू परमेश्वर र मोशाको विरोधमा बोले: “यस उजाडस्थानमा मर्नका निम्ति तपाईहरूले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो ? किनकि यहाँ न रोटी छ, न पानी; अनि हाम्रो प्राणले यस तुच्छ भोजनलाई घृणा गर्छ।”
“तब परमप्रभुले ती मानिसहरूका बीचमा अति विषालु सर्पहरू पठाइदिनुभयो, र तिनले ती मानिसहरूलाई डसे; अनि इस्राएलका धेरै मानिसहरू मरे। यसकारण ती मानिसहरू मोशाकहाँ आए र भने: “हामीले पाप गरेका छौं; किनकि हामी परमप्रभु र तपाईको विरोधमा बोल्यौं; परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्, र उहाँले हामीबाट यी सर्पहरू हटाइदिऊन् !” अनि मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। तब परमप्रभुले मोशालाई भन्नुभयो: “तिमीले आफ्ना निम्ति एउटा अति विषालु सर्प बनाऊ, र त्यसलाई एउटा खाँबामाथि झुण्ड्याऊ; अनि यस्तो हुनेछ – सर्पले डसेको हरेक मानिसले जब त्यसलाई हेर्छ, तब त्यो बाँच्नेछ।” तब मोशाले एउटा पित्तलको सर्प बनाएर त्यसलाई एउटा खाँबामाथि झुण्ड्याए; अनि यस्तो भयो – सर्पले कुनै मानिसलाई डसेको थियो भने जब त्यसले पित्तलको सर्पलाई हेर्यो, तब त्यो बाँच्यो (गन्ती २१:४-९)।
यस घटनालाई उद्धृत गर्दै सिकाउनुभएको येशूको शिक्षामा विश्वासको अर्थ बुझ्न सकिन्छ। साँपले डसेकाहरू आफ्ना अपराधका कारण त्यस ईश्वरीय दण्डमा परेका थिए। त्यस दण्डबाट बच्न ईश्वरीय उपायलाई मात्र अपनाउन सकिन्थ्यो। परमेश्वरले सर्वप्रथम मानिस पापको निम्ति कायल हुनुपर्ने माग राख्नुहुन्छ। त्यसपछि परमेश्वरले दिनुपर्ने उपाय अपनाएको चाहनुहुन्छ। मानिसहरूले परमेश्वरको प्रबन्धमुताविक मोशाद्वारा झुण्ड्याइएको पित्तले साँपलाई हेर्नुपर्दथ्यो। हेर्ने बित्तिकै तिनीहरू निको भए र बाँचे। यो एक सरल काम थियो जसमा काम होइन तर हृदयको विश्वास आवश्यक थियो। बाँच्नलाई मानिसको आफ्नो सामर्थ्यले गर्न सकिने कुनै काम त्यहाँ थिएन। यो पूर्णतया परमेश्वरको कृपाद्वारा थियो जसलाई अनुग्रह भनिन्छ। तिनीहरू कामद्वारा होइन तर विश्वासद्वारा अनुग्रहले त्यस मृत्युबाट बाँचे। तिनीहरूले ईश्वरीय अनुग्रहलाई ग्रहण गर्ने कामस्वरूप आफ्ना शिर उचाली हेर्ने काम गरे। तसर्थ विश्वास भनेको परमेश्वरको अनुग्रहमाथि हृदयको भरोसा हो। यस भरोसाबिना तिनीहरू कुनै हालतले पनि बाँच्न सक्दैनथे।
जसरी उजाडस्थानमा मानिसहरूले विषालु सर्पहरूको डसाइबाट बच्न पित्तले साँपलाई हेरे त्यसरी नै मानिसहरूले आज आफ्ना पापहरूले ल्याउने मृत्युबाट बच्न परमेश्वरबाट तयार पारिएको मुक्तिदातामा विश्वास गर्नुपर्दछ। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)। परमेश्वरबाट पठाइएको मुक्तिदाता येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ सबै मानिसहरूका निम्ति परमेश्वरको योजनाअनुसार क्रूसमा टाँगिनुभयो। अब उहाँलाई हेर्नेहरू सबै परमेश्वरको दण्ड अनन्त मृत्युबाट बाँच्नेछन्। मानिसले केवल उहाँको क्रूसको बलिदानमा हेर्नुपर्दछ। यही उपायबाट नै तपाईले पनि आफ्ना पापहरूबाट क्षमा पाउनुहुन्छ। येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्नुहोस्, तब तपाईले परमेश्वरको अपार अनुग्रह पाउनुहुनेछ।
पश्चात्ताप
यस विश्वासमा पश्चात्ताप पनि सँग-सँगै आउँदछ। जब तपाईले येशूलाई प्रभु भनी स्वीकार गर्नुहुन्छ तब तपाईले आफ्ना पापका मार्गहरूलाई परित्याग गर्नुभई प्रभु येशूको नेतृत्वलाई स्वीकार्दै अघि बढ्न आफूलाई उहाँमा सुम्पिनुभएको हुन्छ। यसरी तपाई आफ्ना पापका स्वभाविक मार्गहरूबाट फर्की अब ईश्वरीय मार्गमा आउनुहुन्छ। यो पश्चात्ताप हो। पश्चात्तापको अर्थ मनको परिवर्तन हो। जस्तो प्रेरित २०:२१ मा लेखिएको छ, “मैले दुवै यहूदीहरू र ग्रीकहरूलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाही दिरहें।”
पश्चात्ताप सम्बन्धमा येशूको शिक्षा
पश्चात्तापको सम्बन्धमा बुझ्नको लागि येशूले सिकाउनुभएको शिक्षा र उहाँले प्रयोग गर्नुभएको एक दृष्टान्त अध्ययन गरौं।
हराएको छोरो
“कुनै एउटा मानिसका दुई छोरा थिए। अनि तीमध्ये कान्छोचाहिँले आफ्ना बाबुलाई भन्यो, “पिताजी, सम्पत्तिको मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।” अनि उनले तिनीहरूलाई आफ्नो सम्पत्ति बाँडिदिए। अनि धेरै दिन नबितिकनै त्यो कान्छो छोरा सबै थोक जम्मा पारेर टाढो देशमा गयो, र त्यहाँ विलासी जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। अनि त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्यो; र त्यसलाई अभाव पर्न थाल्यो। अनि त्यो गएर त्यस देशका एउटा नागरिककहाँ टाँसियो; अनि उसले त्यसलाई आफ्ना खेतहरूमा सुँगुरहरू चारउन पठायो। अनि त्यसले सुँगुरहरूले खाएका ती कोसाहरूले आफ्नो पेट भर्ने लालसा गर्यो, तर कसैले त्यसलाई दिँदैनथ्यो। जब त्यो होशमा आयो, तब त्यसले भन्यो, “मेरा पिताका कति ज्यालादार नोकरहरूले उब्रोपाप्रो हुने गरी रोटी पाउँछन्, तर मचाहिँ भोकले नाश भइरहेछु। म उठेर मेरा पिताकहाँ जानेछु, र उहाँलाई भन्नेछु: “पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरो भनिने लायकको म छैनँ; मलाई तपाईंको ज्यालदार नोकरहरूमध्ये एउटाझैं बनाउनुहोस्।” अनो उठेर त्यो आफ्ना बाबुकहाँ आयो। तर त्यो अझ धेरै टाढामै हुँदा त्यसका बाबुले त्यसलाई देखे र दयाले भरिए; अनि दगुरेर गई त्यसलाई अँगालो हाले, र त्यसलाई चुम्बन गरे। अनि त्यस छोराले उनलाई भन्यो, “पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, अब उसो तपाईंको छोरो भनिने लायकको म छैन। तर बाबुचाहिँले आफ्ना दासहरूलाई भने, सबभन्दा असल पोसक निकाल, र उसलाई पहिराइदेओ; अनि उसको हातमा औंठी र पाउहरूमा जुत्ता लगाइदेओ” (लूका १५:११–२२,२४)।
अनि पिताजीले आफ्ना दासहरूलाई आफ्नो छोरोको पुन:प्राप्तिको उत्सवको निम्ति एक ठूलो भोज तयार गर्न अह्राए। त्यस घरमा ठूलो रमाहट गरियो। पिताजीले यो घोषणा गरे, “मेरो यो छोरो मरेको थियो, र फेरी जीवित भएको छ; ऊ हराइको थियो र पाइएको छ” (लूका १५:२४)।
पश्चात्तापबारे येशूले कस्तो शिक्षा दिनुभयो? दुई छोराहरूमा कान्छो छोरो विद्रोही छोरोको रुपमा हुर्किए। उनले आफ्ना पिताको शिक्षा र अनुशासनलाई अस्वीकार गरे। उनी आफ्ना विचारमा बेकम्मा बने। अन्तमा उनले भारी कष्ट भागे। मात्र उनले आफ्ना पिताजीका शिक्षा र अनुशासनलाई सही हो भनी स्वीकार गरे। कष्टमा मात्र उनले परमेश्वर र पिताजीको विरुद्धमा गरिएका कृयाकलापहरू गलत थियो भनी ह्रदयले महसुस गरे र अति दु:खित भए। उनको मनमा परिवर्तन आयो। उनी फेरी आफ्ना पिताजीको घरमा फर्कने निर्णय गरे। अनि आफ्ना पिताजीका शिक्षा अनुशासनमा रहन निर्णय गरे। उनको यो मनको परिवर्तनले उनको जीवनमा अभूतपूर्व ल्याइदोयो। उनी तुरुन्तै आफ्नो त्यस अवस्थाबाट अनि त्यस स्थानबाट उठे र आफ्ना पिताका घरतर्फ लागे। उनले आफ्नो अनाज्ञाकारिता, असंयम, लोभ, व्यभिचार, झूट जस्ता घृणित जीवनबाट पाश्चात्ताप गरे। लामो यात्रापछि उनी आफ्ना पिताजीको घरमा पुगे। घरमा पिताजीलाई भेट्नासाथ उनले आफ्ना पिताजीलाई भने, “पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरो भनिने लायकको म छैन।” उडाउ पुत्रका यी गतिविधी र भनाइले प्रष्ट पार्दछ कि उनमा साँचो परिवर्तन आएकै हो। यो उनको मनको परिवर्तन हो। यसैलाई नै पश्चात्ताप भनिन्छ। यस किसिमको पश्चात्तापको पिताजी अति सन्तुष्ट बनेको र रमाएको तथ्य यस दृष्टान्तमा उल्लेख गरिएको छ।
साँचो पश्चात्तापले मात्र मानिसलाई परमेश्वरसमक्ष ग्रहणयोग्य तुल्याउँदछ। सबै मानिसहरूले आफ्ना मनमा परमेश्वरको विरुद्धमा गर्दै आइरहेको पापहरूको निम्ति दु:खित हुँदै परमेश्वरतर्फ फर्कनुपर्दछ। यसरी फर्कनेहरूलाई परमेश्वरले कसरी हर्षसाथ स्वीकार गर्नुहुन्छ भन्ने तथ्य यस दृष्टान्तद्वारा प्रष्ट पारिएको छ। तसर्थ तपाईंले आफ्ना पापहरूबाट क्षमा पाउन यस प्रकारले साँचो परिवर्तन हुन जरुरी हुन्छ। यो बाहिरी परिवर्तन वा धर्मको परिवर्तन नभई जीवनको परिवर्तन हो।
पिताजीले भने, “हामीले आनन्द मनाउनु र खुशी हुनु नै उचित छ, किनभने यो तिम्रो भाइ मरेको थियो, र फेरी जीवित भएको छ; ऊ हराएको थियो, र पाइएको छ” (लूका १५:३२)।
मानिसको साँचो पश्चात्तापमा परमेश्वर कति खुशी हुनुहुन्छ भन्ने तथ्यलाई यहाँ प्रष्ट पारिएको छ। मानिस स्वाभाविक रुपमा पापमा मरेको हुन्छ। परमेश्वरको दृष्टिमा उनका कुनै पनि कार्यहरू ग्रहणयोग्य हुन सक्दैनन्। परमेश्वरतर्फको पश्चात्तापले मात्र मानिसलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउँदछ। ग्रहणयोग्य मात्र होइन परमेश्वरमा भारी रमाहट ल्याउँदछ। यसले देखाउँदछ कि परमेश्वर मानिसको पश्चात्तापको निम्ति कति उत्कट इच्छा राख्नुहुँदछ। परमेश्वरले मानिसलाई कति प्रेम गर्नुहुन्छ। परमेश्वर तपाईंलाई अति प्रेम गर्नुहुन्छ र तपाईंको उद्धारको निम्ति उहाँ उत्कट इच्छा राख्नुहुन्छ।
यस रमाहटलाई बुझाउन येशूले अर्को दृष्टान्त बताउनुभयो,
हराएको भेडा
“तिमीहरूमध्ये कुनचाहिँ मानिस होला, जससँग एक सय भेडा छन्, र तीमध्ये एउटा हरायो भने उनान्ससयलाई उजाडस्थानमा छोडेर त्यस हराएकोलाई नभेट्टाउन्जेल त्यसका पछि लाग्दैन? अनि त्यसलाई भेट्टाएपछि उसले आफ्ना साथी र छिमेकीहरूलाइ यसो भन्दै भेला गर्छ, मसँग अानन्द गर; किनकि मैले मेरो हराएको भेडा भेट्टाएको छु” म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्तापको खाँचो नभएको उनान्सय धर्मीहरूका निम्ति भन्दा पश्चात्ताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा बढी आनन्द हुनेछ” (लूका १५: ४–७ )।
एक गोठालालाई आफ्ना भेडाहरूको औधी माया हुन्छ। वर्षौ–वर्ष त्यो गोठाला आफ्ना भेडाहरूका माझ रहेका हुन्छन्। तिनकै सामु ती भेडाहरू जन्मन्छन्, हुर्कन्छन्। प्रत्येक भेडाको स्वभाव, गतिविधी त्यो गोठाला जान्दछन्। गोठालालाई भेडाहरूको औधी माया हुन्छ। उनी प्रत्येक भेडाको निम्ति आफ्नो जीवन अर्पन्छन्। ती भेडाहरूका निम्ति घाम–पानी, हुरी–बतास, जाडो–गर्मी, गाह्रो–अप्ठयारो केही भन्दैनन्। उस्तै परे गोठालो भेडाहरूको बचाउको निम्ति बाघ–भालूसँग जुध्छन्, आफ्नो ज्यानको बाजी लगाउँछन्। आवश्यक परे भेडाहरूका निम्ति मरिदिन्छन्। साँचो गोठालाहरूको यस्तै इतिहास हुन्छ। असल गोठालाको जब कुनै एक भेडा गायब हुन्छ तब उसलाई चैन हँदैन। उनी जस्तै संकटको सामना गर्नुपरे तापनि त्यस भेडालाई प्राप्त गर्न चाहन्छन्। त्यसबेला आफू भएका ९९ भेडाहरूको भन्दा उनलाई हराएको त्यही एक भेडाको बेसी माया हुन्छ र त्यसका निम्ति उनले सारा खर्कहरू, बन–झाडीहरू, भीर–पहराहरू, उकाली–ओरालीहरू सर्वत्र खोज गर्दछन्। जबसम्म हराएको त्यस भेडालाई भेटिन्नन् उनी लगातार खोज्दछन्। आँसु पिछ्दै, रुदै, कराउदै आफ्ना ती प्रिय भेडाको खोजी गर्दछन्। जब उनले त्यस भेडालाई देख्दछन् त्यस भेडा जस्तै अनकन्टार ठाउँमा फसिरहेको भएतापनि त्यसलाई बचाउन आफ्नो ज्यानको बाजी लगाउँदै प्राप्त गर्दछन्। त्यसलाई बचाउन सफल भइसकेपछि उनमा खुशीको सीमा रहँदैन। उनी भारी खुशीमा आफ्ना घरतिर फर्कदछन् र आफ्ना साथीहरूलाई त्यस अतुलनीय खुशीमा खुशी हुन आहवान गर्दछन् र त्यहाँ ठूलो रमाहट हुन्छ।
येशू मानिसहरूका निम्ति असल गोठाला हुनुहुन्छ। उहाँले मानिसहरूका निम्ति आफ्नो जीवन अपर्ण गर्नुभएको छ उहाँ मानिसहरूको उद्धारको निम्ति २००० वर्षअघि क्रूसमा मर्नुभएको हो। मर्नुभएको तेस्रो दिनमा मरेकोबाट फेरी बौरी उठ्नुभयो। पापको कारण अनन्त विनाशतर्फ गएरहेका मानिसहरूको उद्धारको निम्ति उहाँको बलिदान भएको थियो। अब उसले उहाँको यस प्रेमलाई बुझि उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछन् तिनीहरूलाई उहाँ भेट्टाउनुहुन्छ र तिनको निम्ति स्वर्गमा ठूलो रमाहट हुन्छ। बचाइएको मानिस अनन्त रुपमा स्वर्गको राज्यको निम्ति बचाइदछन्। परमेश्वरको कति महान् योजना!
अर्को पाठमा अरु महत्वपूर्ण सत्यताहरूको अध्ययन गर्नेछौं।
अंक १
दृश्य १
(कलेज विदा छ। किरण आफ्नो अत्यन्त घनिष्ट साथी राजनसंग पार्क) घुम्न गइर हेछ। पार्क अत्यन्तै सिंगारिएको छ। सुन्दर र शान्त छ। आज किरण आफ्नो साथी राजनसंग आफूलाई लागेका विषयहरूमा मन खोलेर कुरा गर्ने सोचाइमा छ। उनको मन भारी भएको छ।)
किरण: होइन राजन मलाई भन र शैरान, भुतात्मा, ईश्वर, स्वर्गदूत हुन्छन् कि हुदैनन्?
राजन: हुन्छन् किरण हुन्छन्। वास्तवमा विज्ञानले जे भने पनि ती हुन्छन्। हेर्नोस् मैले काकाले अस्ति भर्खरै राँके देख्नुभयो। मेरो ठूलाबको त किचकन्नेसंग जम्काभेट नै भएको थियो। एउटा झाँक्रीलाई नै विचार गर्नोस् न। त्यो कसरी काँप्छ। आफैले नजानेका भाषाहरूमा त्यो बोल्छ। आफैमा वीर चढाएर आगोमाथि नाच्छ। यी कुराहरू दुई चार जनाबीचको गुपचुप कुरा होइनन्। सारा दुनियामा व्यापक चर्चा भएको कुरा हो। नदेख्दैमा छैन भन्न मिल्दैन।
किरण: मलाई पनि त्यस्तै लाग्छ। तर यी कुराहरू छैन भन्ने प्रमाण खोइ त? ईश्वर छ भनिन्छ तर ईश्वर कस्तो व्यक्ति हो, किन ईश्वरको दर्शन पाइन्न आज?
राजन: मलाई पनि थाहा छैन यी सबै कुराहरू त? तर मलाई लाग्छ नदेख्दैमा छैन भन्न चाहिँ मिल्दैन। हाम्रा वरिपरि कैयौं यस्ता तत्वहरू छन् जसलाई देख्न सक्दैनौं। तर केही न केही माध्यबाट त्यसको अस्तित्च थाहा गर्न सक्छौं? बगैचाका यी सुन्दर फूलहरूलाई विचार गर त, के यी अचम्मका छैनन्? यसमा कसैको सीप परेको जस्तो लाग्दैन? बास्तवमा यी कुराहरूलाई यसरी विचार गरे पनि ईश्वरलाई बुझ्न सकिन्छ जस्तो लाग्छ मलाई।
किरण: हेर राजन तिम्रो कुरोमा म सधै सहमत हुने गर्छु। किन थाहा छ? किनकि तिमी मलाई अत्यन्तै चित्तबुझ्दो जवाफ दिन्छौं। मलाई भन त राजन अब मानिस किन मर्छ? के नमर्ने उपाय केही छन् होला हेर हामी यस्तो सुन्दर संसारमा जिइरहेछौं। कति आनन्ददायी छ हाम्रो जीवन। के तिमीलाई यसरी नै जिइरहन मन छैन?
राजन: किन नहुनु किरण? तिमी हामी यसरी नै सदालाई पार्कमा घुम्न पाए देश विदेश जान पाए, सबै उत्तम कुराहरूको उपभोग गर्न पाए कति राम्रो हुनथ्यो कति। तर के गर्नु मृत्युले उमेर पनि भन्दैन, धन, विघा पनि भन्दैन, केही भन्दैन। हेर त गतवर्ष सहपाठी सुरज अचानक मरेको।कति मजाको साथी थियो त्यो।त्यो मर्दा हाम्रो क्लासको नरुने कोही थियो त? त्यो साथीलाई सम्झेपछि बेकार रहेछ जीन्दगी जस्तो लाग्छ?
किरण: मलाई त मरिन्छ भन्ने डर मात्र होइन मरेपछि नरकमा गइन्छ भन्ने डरले पनि सताएको छ। मलाई जीवनको अन्त चिहान वा चिता नै हो जस्तो लाग्दैन। मानिस अवश्य नरक कि स्वर्ग त जानैपर्छ। एकदिन ईश्वरको इन्साफमा पर्दा दोषी पाइएमा स्वर्ग कसरी गइएला? मलाई त्यसमा पनि ठूलो चिन्ता छ। मलाई थाहा छ म धर्मी मानिस होइन। खोइ र मैले धर्म–कर्म गर्न सकेको? अर्को कुरा मुक्तिको बाटो कुन हो र के हो भन्ने अत्तो पत्तो छैन मलाई। कोही के भन्छन् कोही के। यसमा पनि मेरो ह्रदय बोझिलो भएको छ।
राजन: हो त केही मारकाट नगर्नू भन्छन्, कोही गर्नु भन्छन्, कोही ब्रहमचारी भन्छन्, कोही घर–परिवार भन्छन।कोही मूर्तीपूजा गर्नु भन्छन्, कोही नगर्नू भन्छन्। कोही यसलाई पूज्नु भन्छन् कोही त्यसलाई पूज्नु भन्छन्। कोही कहाँ जानू भन्छन् कोही कहाँ। वास्तवमा मुक्ति पाउने बाटो यही हो भनेर कसैले ठोकुवा दिन सकेको छैन। मानिस सबै भ्रममा छन्। यस्तै भएर मानिस नास्तिक बन्दैछन्। ईश्वर छैन, स्वर्ग नरक छैन भन्छन्। त्यसो भन्न त हाम्रो विवेकले दिदैन। हाम्रो विवेकले ईश्वर छ भनिरहेछन्।
किरण: तिमीले अति राम्रो कुरा गर्यौ। मेरो अवस्था ठीक त्यस्तै छ। म मुक्ति चाहन्छु, मुक्ति र शान्ति। त्यो बाटो कुन हो? अब त कलेज लाग्न पनि दुई दिन बाँकी छ। अब भोली कहाँ जाने त? कलेज जानलाई तयारी त हुनु पर्यो नै, फुर्सत त कहाँ छ र?
दृश्य २
(पृथ्वीजंग र विद्यारेखा आफ्नो घरको बार्दलीमा मुखामुख गरि बासिरहेका छन्। जुनेली रात सन्नाटा छ। हल्ला–गुल्ला केही छैन्। उनीहरू आफ्ना जीवन सफल भएको अनुभूति गर्छन्। उनीहरू बर्तमान र भविष्यका मिठो सपनाबारे चर्चा गर्न तल्लिन छन्। विशेष गरि उनीहरूका छोरा किरण नै उनीहरूको आशाको किरण बनेको छ। उनमा नै उनीहरू मिठा–मिठा सपना देख्छन्। जीवनको जीत देख्छन्।)
पृथ्वीजंग: कति सुखी छौ विद्या हामी। हाम्रो छोरो किरणले गर्दा हाम्रो ह्रदय प्रकाशमान भएको छ। हाम्रो मुख उज्यालो भएको छ। हामीलाई चाहिएकै यही हो। गास,वास,कपास भन्दा ठूलो कुरो यही हो।
विद्यारेखा: हो नि पढाइमा तेज त छँदै छ, दुनियालाई थाहा भइसक्यो; तर शिल–स्वभाव कति राम्रो नी। त्यसको मूखबाट नराम्रो भन्ने केही निक्लदैन। आमालाई खुशी पर्नु पर्छ भन्ने त्यसको ज्ञानमा छ। बाबलाई मान्नुपर्छ भन्ने त्यसले राम्ररी जान्दछ। जसरी तसरी हुन्छ आमा बाबाको सेवा गर्ने, मित्र–भाव राख्ने, पर–पाहुना हर्ने, मान–मनितो राख्ने एउटा अचम्मको छोरो छ त्यो। त्यसैले त उसको साथी राजन किरण बिना बाँच्नै सक्दैन्। मानछे हुनुपर्ने पनि यस्तै हो।
पृथ्वीजंग: अब त यसले यो वर्ष वी.ए. पनि पास गर्छ। त्यसपछि पढ्छ कि जागिर खान्छ। जागिर खाए पनि भो। जागरि खाँदै एम.ए. पढ्दै गर्न त्यसलाई के गाह्रो छ र। पढे पछि त्यसले फेलको नाममा फ जानेको छैन। बरु आफ्नो कक्षामा सधैं पहिला हुने गर्थ्यो त्यो। आइ.ए. मा पनि प्रथम तहको पनि प्रथम वर्गमा पर्ने अंक ल्याएको थियो त्यसले। बि.ए. मा पनि असाध्यै राम्रो गर्दैछ।यसको ध्यान खाली पढाइमा मात्र हो र उसले त चारैतिरको विषयको अध्ययन गर्छ। ज्ञान मात्र होइन निति–नियाम, शील–चरित्र, संगत–व्यवहार, वर्तमान्–भविष्य, इतिहास–राजनिति, चारै विषय सिकिरहेको छ। यस्तो मान्छे राजनितिमा लागे मान्त्री हुन्छ। देश चलाउँछ। निजामति कर्मचारीतिर लागे उपसचिव, सचिव बन्छ देश चलाउँछ। देश विदेशको राजदूत बन्छ र राज्यको प्रतिनिधत्व गर्छ। यस्तो क्षमता किरणमा छ। एकदिन हामी पनि मन्त्री कि मन्त्रालय सचिव कि राजदूत कि उच्च ओहोदका अख्तियारवालका बाबा–आामा बन्नेछौ। मलाई यसले सुख दिइसकेको छ। दु:ख विर्साएको छ। म अनन्दको बगौचामा बसिरहेछु। धन्य हे ईश्वर।
विद्यारेखा: हो नि कति भाग्यमानी छौँ हामी। हाम्रो किरण रमाहटको किरण हो, विजयको किरण पनि।ईश्वरले यसको रक्षा गरुन्।
दृश्य ३
(किरण पाठ्यपुस्तकको मात्र होइन जो क्लास चढ्नको लागि मात्र उदेश्य लिन्छ, चौतर्फी अध्ययन गर्छ उनले। उनले धेरै सिकिसकेका छन्, धेरै सिक्न बाँकी छ पनि। उनले जीवनमा धेरै सिकिसके पनि एउटा प्रश्नको जवाफ मिलेको छैन। मुक्तिको बाटो के हो? गगननाथ शहरकै कहलिएको शास्त्री हो। शास्त्र बारे उनलाई जे प्रश्न गरे पनि हुन्छ। हाँसी हाँसी जवाफ दिइदिन्छ उसले। सबैको चित्त बुझाउँछ उसले।)
गगननाथ: ओहो! किरण बाबु कता हो नि आज यसरी। बाबुको नाम त मैले पत्रपत्रिकमा पढिरहन्छु। यसरी नै राम्रो गर्दै जाऊ बाबु। ईश्वरले कृपा गरुन्।
किरण: हजुरसंग केही कुरा गर्न आइरहेछु आज। हेर्नोस् मानिस जन्मेपछि मर्नुपर्छ। यो त सरल कुरा हो। तर मृत्युपछि के हुन्छ अनि मुक्ति पाउने बाटो कुन हो? यसको जवाफ मलाई चाहिएको छ।
गगननाथ: हो नि, बाबु, मानिस जन्मेपछि नमरी कहाँ सुख छ र! अब मुक्तिको कुरा गर्यौ। अचेलका मान्छे धर्म–कर्मतिर चासो राख्नु त गजबकै कुरा हो। बाटो त त्यही त हो नि धर्म–कर्म गर्नुपर्छ बाबु। धर्म गरे पुण्य मिल्छ पाप गरे दण्ड मिल्छ। दानपुण्य गरे परत्रमा पाइन्छ। तिर्थ–वर्तले ईश्वर मिल्छ, सत–संगत, भजन, किर्तन गरे ज्ञान मिल्छ, शान्ति मिल्छ। क्रिया–कार्य गरे परत्रमा सुख भोग मिल्छ। शास्त्रहरूको टुंगो यसैमा छ बाबु।
किरण: मुक्ति भनेको के त त्यसो भए?
गगननाथ: यो क्षणभंगुर शारीरबाट अलग भई फेरी यस्तै जन्म–मरण चक्रमा नरुमल्लिनु नै मुक्ति हो बाबु। जब हामी मानवबाट देवात्मामा लीन हुन्छौ त्यही मुक्ति हो।
किरण: तपाईंले पाउनु भयो त?
गगननाथ: त्यो त अहिले थाहा हुने कुरा होइन्। जब त्यो क्षणभंगुर लिलाबाट पार हुन्छ तब मात्र थाहा हुने कुरा हो त्यो। आफूले बेलामा धर्म कमाउन सके कमिने कुरा त हो त्यो।
किरण: तब कसरी शान्ति भयो त तपाईंलाई?
गगननाथ: एक ध्यान, एक चित्त दिई जब ईश्वरको भक्ति गरिन्छ तब शान्ति त छँदैछ नि बाबु।
किरण: त्यो त तपाईंको एकतर्फी सोचाईमात्र भयो। ईश्वरले तपाईंको कामबारे के सोच्नु हुन्छ तपाईंलाई थाहा छ?
गगननाथ: त्यो त मानवले के जान्दछ र? उहिल्यै सत्ययुगमा जान्दथ्यो होला अहिले त अब कलीमा त्यस्तो ज्ञान मानवलाई छैन बाबु।
किरण: ल त म लागें।
गगननाथ: ल त बाबु राम्ररी जानू।
दृश्य ४
(किरणलाई गगननाथको कुरामा पटक्कै चित्त बुझेको छैन। उनको आत्माले सत्य ईश्वर जान्न चाहँदछ। ईश्वर कुनै तत्व नभई व्यक्ति हो। ईश्वर मानिस जस्तो होइन। ईश्वर सर्वव्यापी, सर्वज्ञानी, बुद्धिमान्, दयालु हुनुपर्छ उनको दाबी छ। धेरैले साँचो ईश्वरको मनोभावना बुझ्न नसकेको विचार किरण राख्दछ। बास्तवमा मानिसले पाउन सक्ने मुक्तिको उपाय हुनुपर्छ जसमा मानिस मृत्युपछि होइन यही जीवनमै निश्चयता लिई रमाउन सक्दछ। वास्तवमा गगननाथ जस्ता व्यक्तिहरू भ्रममै रहेको जीकिर छ किरणको। उनी खोजी कार्यमै लागिरहेको छन्। उनलाई आशा छ एकदिन साँचो ईश्वरको ज्ञान उसले पाउनेनै छ। उसलाई लाग्छ ईश्वर मानिसबाट टाढा हुनुहुन्न। उहाँलाई ठीकसँग छामे भेट्न सकिन्छ।)
सत्यजीत: होइन भाइ तपाईं त गहिरो सोचमा हो कि जस्तो देखिन्छ नि। तपाईंसँग थोरै कुरा गर्न सक्छु?
किरण: भन्नुस न।
सत्यजीत: मसंग तपाईंको निम्ति एउटा मनपर्ने पुस्तक छ। त्यो यही हो, लिनोस। तपाईंको निम्ति यो अत्यन्त महत्वपूर्ण पुस्तक हो। यो जीवित एक मात्र सत्य परमेश्वरको पुस्तक हो। यसले साँचो ईश्वरको सत्य ज्ञान दिन्छ। मुक्तिको बाटो देखाउने साँचो पथ प्रदर्शक हो। यस पुस्तकको नाम बाइबल हो। के तपाईं यो पुस्तक पढ्न चाहनुहुन्छ?
किरण: हो म यो पुस्तक पढ्न चाहन्छु। मैले साँचो ईश्वरलाई खोजीरहेछु। के यसले ईश्वरबारे सबै ज्ञान? के यो साँचो ईश्वरको पुस्तक हो?
सत्यजीत: तपाईंले खोज्नु भएको पुस्तक यही हो, चाहिएको पुस्तक पनि। अध्ययन गर्नुहोस्। नबुझेको विषय केही भएमा म सहयोग गर्नेछु। म समय समयमा तपाईंकहाँ यहाँ आउँला।
किरण: हस् त धन्यवाद।
दृश्य ५
(किरण बाइबल अध्ययन गर्न तल्लिन छ। उसले खुब गहन रुपमा अध्ययन गरि रहेछ बाइबललाई। उसलाई बाइबलका कुराहरूमा खुब चित्त बुझिरहेछ।)
राजन: किरण तिमी के पढ्दैछौ? नौलो पुस्तक जस्तो लाग्छ नि।
किरण: हो यो एक नौलो, अनौठो पुस्तक हो। यो बाइबल हो। मैले भर्खरै पाएँ।
राजन: ए… यो त ईशाई धर्म, अमेरिकन धर्म हो। यसलाई हामी नेपालीले पढ्नु हुदैन किनकि यो विदेशी धर्म गाइखाने धर्म हो। यो पढदै नपढनू। यो पढेमा समाजबाट बहिस्कार हुन्छ, हेला कुदृष्टि हुन्छ। तिमीलाई थाहा छैन पल्लो टोलको विशालले पनि यही धर्म मान्छ तर समाजले उसलाई छि: छि: दूर दूर गर्छ। तिमी हामीले यस्तो पुस्तक पढनु उचित हुदैन।
किरण: अहो राजन तिमीले उचित कुरा गरेनौ। हामीले सबै धर्महरूको ज्ञान लिनु पर्छ। हरेक धर्मले नराम्रो बाटो त देखाउदैन नी देखाउँछ?
राजन: त्यो त देखाउदैन।
किरण: अनि? यसलाई पढेर के हुन्छ? ईशाई बन्ने नबन्ने त आफ्नो व्यक्तिगत कुरो हो। अर्को कुरा धर्म भन्ने कुरा स्वदेशी विदेशी भन्ने हुदैन। होला यसलाई गोरेहरूले मात्र मान्दैछ तर तिनले कस्ता कुरामा विश्वास राख्छन् सो जान्न पनि त राम्रो हो नि। यो धर्म लिएपछि मानिस किन समाजबाट बहिस्कृत हुँदो रहेछ सो पनि जानु न। त्यसैले म यस पुस्तकबाट गहन अध्ययन गर्छु नै। तिमी पनि आऊ अनि पढ। आखिर तिमी पनि ईश्वरको बास्तविकताबारे खोज्ने काम गर्दैछौ नि।
राजन: ठीक हो किरण। तिमी पहिला अध्ययन गर अनि म गर्छु।