पाठ ४

इस्राएल राष्ट्र र उद्धारकर्ता

तपाईंले यस पाठमा निम्न विषयहरू सिक्नुहुनेछः

१. उद्धारकर्ताको आगमनको पृष्ठभूमि के थियो ?

२. उद्धारकर्तासँग इस्राएल राष्ट्रको के सम्बन्ध छ ?

३. दश आज्ञाहरू के हुन् र किन दिइए ?

४. उद्धारकर्ताको आगमन सम्बन्धी भविष्यवाणीहरू के-के हो ?

 

तपाईंले यस्ता थुप्रै प्रश्‍नहरूको जवाफ यस पाठमा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं यो पाठ र यसको कार्यपत्र डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले सक्नुहुन्छ। हामीचाहिँ तपाईंलाई कार्यपत्र अनलाइन भर्न सल्लाह दिन्छौं किनकि त्यसले कार्यपत्र भर्ने र पठाउने तरिका सहज बनाउँछ। तर तपाईं कार्यपत्र डाउनलोड गरेर भर्न चाहनुहुन्छ भने तपाईंले कार्यपत्रलाई स्क्यान गरेर वा त्यसको फोटो खिचेर त्यसलाई हामीकहाँ इमेल गर्न सक्‍नुहुनेछ (correspondence@nepalgoodnews.com)।

१. अब्राहामको बोलावट

परमेश्‍वरले आकाश र पृथ्वी सृष्‍टि गर्नुभएपछि समय धेरै बितिसकेको थियो। आदमको पापको कारण पृथ्वी भ्रष्‍टताले भरिएको थियो। परमेश्‍वरले मानिसहरूको उद्धारकर्ता पठाउने योजना अनुरूप उहाँले निरन्तर काम गरिरहनुभएको थियो। त्यस योजना अनुरूप परमेश्‍वरले मेसोपोटामियावासी अब्राहामलाई चुन्‍नुभयो र यसो भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु ! अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु, तिमीलाई आशिष दिनेछु र तिम्रो नाम महान् तुल्याउनेछु; अनि तिमी एउटा आशिष बन्‍नेछौ। अनि जसले तिमीलाई आशिर्वाद दिनेछन्, तिनीहरूलाई म आशिष दिनेछु; अनि जसले तिमीलाई श्राप दिनेछन्, त्यसलाई म श्राप दिनेछु। अनि तिमीमा पृथ्‍वीका सबै कुलहरू आशिषित हुनेछन्” (उत्पत्ति १२:१-३)। परमेश्‍वरले पृथ्वीमा एक जातिद्वारा उद्धारकर्ता पठाउने योजना गर्नुभएको थियो।

अब्राहाम आफ्नी पत्नी साराका साथ कहाँ जाने हो सो कुरा थाहै नभई विश्‍वासैद्वारा परमेश्‍वरको आज्ञा अनुरूप आफ्नो देश र कुटुम्बहरूबाट बिदा भए। परमेश्‍वरले ती जोडीलाई कनान देशमा ल्याउनुभयो र भन्नुभयो यो देश म तिमीलाई दिन्छु। त्यही देश आजको इस्राएल देश हो, जहाँ अब्राहामका सन्तान इस्राएलीहरूले राज्य गर्दछन्। त्यसबेलासम्म सारा बाँझी थिइन्। सारा ९० वर्षकी र अब्राहाम १०० वर्षका थिए। परमेश्‍वरको प्रतिज्ञा अनुरूप साराले ९० वर्षको उमेरमा इसहाक नामक एक पुत्रलाई जन्माई। परमेश्‍वरमा केही कुरा असम्भव छैन। उहाँ आफ्ना प्रतिज्ञामा स्थिर हुनुहुन्छ। नि:सन्तान रहेका अब्राहामलाई समुद्रका बालुवासरह सन्तान हुने प्रतिज्ञा दिनुहुने परमेश्‍वरले नै यो आश्‍चर्यकर्म गर्नुभएको थियो।

२. इसहाकको बलिदान

अब्राहाम आफ्ना पुत्र इसहाकलाई ज्यादै प्रेम गर्थे। एकदिन परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “हे अब्राहाम !” अनि उनले भने: “हर्नुहोस, म यहाँ छु !” अनि उहाँले भन्‍नुभयो: “तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई लेऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरियाह देशमा जाऊ ! अनि त्यहाँ ती पहाडहरूमध्ये एउटामा, जो म तिमीलाई बताउनेछु, उसलाई होमबलिको रूपमा चढाऊ !” (उत्पत्ति २२:१-२)। अब्राहाम भोलिपल्ट बिहानै इसहाकलाई बलिदान दिन परमेश्‍वरले देखाउनुभएको स्थानतर्फ प्रस्थान गरे। यो कार्य उनले खुशीसाथ गरे किनकि उनले परमेश्‍वरलाई सबैभन्दा बढी प्रेम गर्थे। तोकिएको स्थानमा अब्राहामले परमेश्‍वरको आज्ञा मुताबिक वेदी तयार पारे र त्यसमाथि आफ्नो पुत्र इसहाकलाई राखे। तर परमेश्‍वरले अब्राहामलाई इसहाकलाई बलिदान गर्नबाट तुरून्त रोक्नुभयो र अर्को थुमाको प्रबन्ध गर्नुभयो। अब्राहामले आफ्नो पुत्रको सट्टामा परमेश्‍वरबाट प्रबन्ध गरिएको थुमाको बलिदान दिए। यस महान् घटनाले उद्धारकर्ताको प्रबन्ध र बलिदानको स्पष्‍ट चित्रण दिँदछ। पापको कारण मानिस मर्नैपर्थ्यो तर परमेश्‍वरबाट उद्धारकर्ताको प्रबन्ध गरिएको छ। उद्धारकर्ता मानिसको सट्टामा थुमाको रूपमा परमेश्‍वरको सामुन्‍ने वेदीमा बलिदान हुनुहुनेछ। उहाँको बलिदानको कारण मानिस मर्नुपर्ने छैन। मानिसले उद्धार पाउनेछ। सबैले पाप गरेका छन् र पापको ज्याला मृत्यु हो। अर्थात् अनन्त मृत्यु जो नरक हो। मानिस आदमको पापको कारण शरीरमा मर्न बाध्य छन् तर परमेश्‍वरबाट प्रबन्ध गरिएको उद्धारकर्तामा विश्‍वास गरेमा दोस्रो मृत्युबाट उद्धार पाउनेछन्। आशारहित मानिसको निम्ति परमेश्‍वरको कति महान् योजना !

३. व्यवस्था

इसहाकबाट जन्मेका छोराहरूमा एक छोरा याकूब थिए, जसलाई इस्राएल भन्ने नाम दिइएको थियो। यिनै इस्राएलबाट विशाल जातिको वृद्धि भयो। त्यस जातिलाई इस्राएल भनियो। विश्‍व इतिहासमा इस्राएल सधैं चर्चामा आउने जाति हो। किन ? किनकि इस्राएलसँग परमेश्‍वरको विशेष सरोकार छ। उनीहरूका पुर्खा अब्राहामसँग गरिएको प्रतिज्ञाअनुसार इस्राएल जातिद्वारा उद्धारकर्ता पृथ्वीमा मानिसको रूपमा आउनुपर्थ्यो जो पृथ्वीका सबै जाति जातिहरूका आशिष हुनुपर्थ्यो। उहाँ नै सबैका उद्धारकर्ता हुनेवाला हुनुहुन्थ्यो। परमेश्‍वर आफ्ना प्रतिज्ञामा कहिल्यै चुक्नुहुन्‍न। उहाँले अब्राहामलाई दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो। एउटा विशाल जाति, एउटा देश, अब्राहामको उच्‍च नाम, अनि विश्‍वका लागि अब्राहाममा एक महान् आशिष।  त्यो महान् आशिष सारा मानिसका उद्धारकर्ता हुनुहुन्थ्यो। त्यतिमात्र होइन परमेश्‍वरले इस्राएल मार्फत् सारा विश्‍वलाई आफ्नो प्रेम, धैर्य, सत्यता, पवित्रता प्रकट गरिरहनुभएको थियो। उहाँले इस्राएललाई १० आज्ञाहरू दिनुभयो (प्रस्थान २०)। ती आज्ञाहरू यसप्रकार थिए:

  • मबाहेक अरू कुनै इश्‍वरहरू नमान्‍नु।
  • आफ्ना निम्ति खोपेर कुनै मूर्ति नबनाउनू, र तिनीहरूलाई नढोग्नु, तिनीहरूको पूजा नगर्नु।
  • परमप्रभु आफ्ना परमेश्‍वरको नाम व्यर्थमा नलिनु।
  • विश्रामदिन पवित्र मान्नालाई यसको सम्झना राख्नू।
  • आफ्ना बाबु र आफ्नी आमालाई आदर गर्नु।
  • तिमीले हत्या नगर्नु।
  • तिमीले व्यभिचार नगर्नु।
  • तिमीले चोरी नगर्नु।
  • तिमीले आफ्नो छिमेकीको विरोधमा झूटा गवाही नदिनू।
  • आफ्नो छिमेकीको कुनै पनि थोकको लोभ नगर्नु।

यी आज्ञाहरूबाट परमेश्‍वरले आफ्नो धार्मिकताको स्तर प्रकट गर्नुभयो। उहाँ कति उच्च, पवित्र र धर्मी हुनुहुन्छ। के मानिसजातिमा कोही यस्तो मानिस होला जसले यी आज्ञाहरू जीवनमा एकपल्ट पनि उलंघन गरेको छैन ? मानिसले यी मध्येका प्रत्येक आज्ञालाई निरन्तर तोडिरहेका हुन्‍छन्, या त हृदयमा या त हृदय र शरीर दुवैमा। यही नै पाप हो। यी आज्ञाहरू पालन गर्न इस्राएलले प्रयास गरे तर सकेनन्। तब यसले के शिक्षा दियो त ? यसले एक महत्त्वपूर्ण शिक्षा दियो। त्यो के थियो भने मानिस पापी छन्, मानिस आफ्नै प्रयासले वा कामले कहिल्यै धर्मी ठहरिन सक्दैन। त्यसैले मानिसलाई उद्धारकर्ताको आवश्‍यकता छ जसले उसलाई अनुग्रहद्वारा धर्मी ठहरियोस्, बचाओस्।

४. उद्धारकर्ता सम्बन्धी भविष्‍यवाणी

जति समय बित्दै गयो। उद्धारकर्ता पठाउने योजनाक्रममा परमेश्‍वरको इच्छा र कार्यक्रमहरू स्पष्‍ट हुँदै गए। परमेश्‍वरले उद्धारकर्ताको आगमन सम्बन्धमा ज्यादै स्पष्‍ट भविष्‍यवाणीहरू दिन थाल्नुभयो। उद्धारकर्ताको जन्म एक कन्या केटीबाट हुने कुराको घोषणा उहाँले यसरी गर्नुभयो, “हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन्” (यशैया ७:१४)। यो भविष्‍यवाणी अचम्मित भविष्‍यवाणी थियो किनकि कुनै पनि कन्याले गर्भधारण गर्न सक्दैनन्। तर उद्धारकर्ता कन्याबाट जन्मनुहुनेवाला थियो। फेरि उहाँले उद्धारकर्ताको जन्म इस्राएलको बेथलेहेममा हुने कुराको घोषणा गर्नुभयो “तर तँचाहिँ, हे बेथलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; तापनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्‍गमहरू ता प्राचीनकालदेखि, अँ, अनन्त कालदेखि नै हुन्” (मीका ५:२)। यो अर्को अचम्मित भविष्‍यवाणी थियो जहाँ उद्धारकर्ताको जन्मस्थान समेत अघिबाटै घोषणा गरिएको थियो। साथै उद्धारकर्ताको व्यक्तित्व, कार्यहरू, उहाँको बलिदान, बौरिउठाइपछि हुने स्वर्गप्रस्थान, परमेश्‍वरको दाहिने बाहुलीमा बिराजमान, अनि उहाँको दोस्रो आगमन सारा विश्‍वमा उहाँको महिमित राज्यदेखि अनन्तताको समेत भविष्‍यवाणीहरू भए। परमेश्‍वर सत्य हुनुहुन्छ र उहाँको वचन बाइबल सत्य हो। किनकि बाइबल नै परमेश्‍वरको अद्वितीय वचन हो। उहाँले आफ्ना सृष्‍टि मानिसका निम्ति दिनुभएको लेखोट केवल बाइबल मात्र हो। बाइबलमा उद्धारकर्ताबारे भनिएका भविष्‍यवाणीहरू कसरी अक्षरस: पूरा भए हामी सो बारे अध्ययन गर्दैछौं।

५. उद्धारकर्ताको आगमन

आजभन्दा करीब २००० वर्ष अगाडि इस्राएलको नासरत शहरका एक कन्या मरियमकहाँ एक दिन एक स्वर्गदूतद्वारा यो अचम्मको सन्देश आयो, “हे कृपाको पात्र, सलाम ! प्रभु तिमीसँग हुनुहुन्छ; स्‍त्रीहरूमा तिमी धन्य हौ !” (लूका १:२८) डराइरहेकी मरियमलाई स्वर्गदूतले भने, “नडराऊ. मरियम; किनकि तिमीले परमप्रभुबाट कृपा पाएकी छौ। अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्‍नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ;” (लूका १:३१-३२)। त्यो ताजुबको सन्देश पाएपछि मरियमले भनेकी थिइन्, “यो कसरी हुनेछ र ? किनकि म कुनै पुरुषलाई जान्दिनँ नै। अनि स्वर्गदूतले जवाफ दिएर भने: पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मिनुहुने पवित्र जनचाहिँ ‘परमेश्‍वरका पुत्र’ कहलाइनुहुनेछ” (लूका १:३४-३५)। तब मरियमले परमेश्‍वरको योजना बुझेपछि भनिन्, “हेर्नुहोस्, म प्रभुकी दासी ! तपाईंको वचनअनुसार नै मलाई होस्!”

उद्धारकर्ता कन्या स्‍त्री मरियमबाट जन्मने र उहाँको नाम “येशू” हुने विषयको घोषणा गरियो। येशूको अर्थ “मुक्तिदाता” हो। उहाँ परमेश्‍वरतर्फबाट सारा मानिसहरूका निम्ति मुक्तिदाता वा उद्धारकर्ताको रूपमा आउन लाग्दै हुनुहुन्थ्यो।

पवित्र आत्माद्वारा मरियम गर्भवती बनिन्। तर मरियमको मगनी यूसुफ नामक व्यक्तिसँग भइसकेको थियो। तर विवाहअघि नै गर्भवती बनेकी मरियमको सम्बन्धमा यूसुफले आश्‍चर्य माने र त्याग्ने विचार गरे। तर प्रभुका दूतले यूसुफलाई भने, “यूसुफ, आफ्नी पत्नी मरियमलाई आफूकहाँ ल्याउन नडराऊ, किनकि जो उनको गर्भमा हुनुहुन्छ, उहाँचाहिँ पवित्र आत्माबाटकै हुनुहुन्छ। अनि उनले पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाम ‘येशू’ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।” अब प्रभुले भविष्‍यवक्ताद्वारा भन्‍नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो: ‘हेर, कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, अनि तिनीहरूले उहाँको नाम “येशू” राख्नेछन्’ जसको अर्थ हो, ‘परमेश्‍वर हामीसित’ (मत्ती १:२०-२३)।

तब यूसुफले प्रभुका दूतले आज्ञा दिएमुताबिक गरे, र आफ्नी पत्नीलाई आफूकहाँ ल्याए। यूसुफ र मरियम दुवै नासरतमा बस्दथे। तर उद्धारकर्ताको जन्म बेथलेहेममा हुने भविष्‍यवाणी थियो। बेथलेहेम नासरतबाट टाढा दक्षिणी इस्राएलमा पर्दथ्यो। येशूको जन्म बेथलेहेममा तब कसरी हुन सक्थ्यो ? यो असंभव कुरा थियो।

ती दिनहरूमा यस्तो भयो, सिजर अगस्टसले (जो रोमी साम्राज्यका सम्राट थिए), साम्राज्यका सबैले कर तिर्नुपर्छ भन्‍ने उर्दी गरे। सबै जना आ-आफ्नै शहरमा कर तिर्न गए। यूसुफ पनि नासरत शहरबाट आफ्नी पत्नीका साथ बेथलेहेम गए। किनकि तिनी दाऊदका घराना र वंशका थिए। अनि यस्तो भयो उनीहरू त्यहाँ रहँदा-रहैँदै उनका जन्माउने दिनहरू पूरा भए। अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन्। तब उद्धारकर्ता बेथलेहेममा जन्मनु हुने भविष्‍यवाणी पूरा भयो। अचम्म होइन त ? परमेश्‍वर कसरी अघिबाटै पछि हुने कुराहरू जान्‍नुहुन्छ ? उहाँका प्रतिज्ञाहरू अकाट्य छन्। लामो समय बित्दा मानिसलाई लाग्न थाल्छ कि परमेश्‍वर आफ्नो वचनमा रहनुहुन्न र उहाँलाई मानिसप्रति चासो छैन। तर त्यसो होइन, परमेश्‍वर निरन्तर मानिसको निम्ति आफ्नो योजना र कार्यक्रम अनुसार काम गरिरहनुभएको छ। उहाँका निम्ति एक हजार वर्ष बित्नु एक दिन बित्नु जस्तो मात्र हो। हामीलाई धैर्यको आवश्‍कता छ।

६. येशूको बाल्यावस्था

यो अति ताजुबपूर्ण कुरो हो कि परमेश्‍वर मानिस भएर जन्मनुभयो अनि मानिस झैं एक बाल्यावस्था भएर हुर्कनुभयो। परमेश्‍वरको प्रेम कति महान्। उहाँको आगमनको सम्बन्धमा यस्तो लेखिएको छ, “किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्‍ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्‍ना ३:१६)। यसरी येशू मानिसहरूको जीवनको निम्ति अर्थात् मुक्तिको निम्ति संसारमा आउनुभयो। परमेश्‍वरको महान् प्रेम यसैमा प्रकट गरिएको छ।

जब येशूको जन्म भयो तब बाहिर राती आफ्ना भेडाहरूका सुरक्षाको निम्ति बसिरहेका गोठालाहरूकहाँ यो सन्देश दिइयो, “नडराओ, किनकि हेर, म तिमीहरूलाई बढो आनन्दको शुभ-समाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मनुभएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, तिमीहरूले लपेट्ने लुगाहरूमा बेरिएको बालकलाई डुँडमा पस्रिरहेको भेट्टाउने छौ” (लूका २:१०-१२)। अनि तिनीहरू हतार-हतार आए, र मरियम, यूसुफ र डुँडमा पस्रिरहेका बालकलाई भेट्टाए। यसरी मुक्तिदाताको जन्मको समाचार पहिला ती नम्र र सरल गोठालाहरू समक्ष दिइए जसद्वारा चारैतिर यस शुभ-समाचार प्रचार गरिए। परमेश्‍वरको कस्तो अचम्मको व्यवहार कि उहाँले आफ्नो जन्म महलमा होइन तर गोठमा हुन रोज्नुभयो। शुभ-सन्देश पहिला यी सरल मानिसहरूलाई दिइए।

यहाँ अब के कुराको स्मरण गराउन जरुरी छ भने त्यहाँ आत्मिक प्राणीहरू छन्। जसमा कोही खराब छन् ती हुन् शैतान र त्यसका दूतहरू जोहरू सधैं परमेश्‍वरको योजनाको विरोधीहरू हुन्। जब उद्धारकर्ताको जन्मको प्रचार चौतर्फ भइरहेको थियो तब शैतानले येशूलाई मार्ने योजना गरे। इस्राएललाई रोमको तर्फबाट राज्य गर्ने हेरोदले येशूलाई मार्न षड्यन्त्र रचे। तर परमेश्‍वरसँग सामना गर्न हेरोद किन सफल हुन्थे र ? येशूलाई हेरोदका सेना आउन अघि नै आफ्ना अभिभावकहरूद्वारा मिश्र पुर्‍याइसकिएको थियो। त्यसबेला हेरोदद्वारा बेथलेहेम र वरपरका २ वर्ष मुनिका बालहरू तरवारद्वारा काटिएको विभत्स काण्डबारे वर्णन कसले गर्न सक्छ ? सारांशमा यति भनियो, “रामामा आवाज सुनियो विलाप, रुवाबासी र ठूलो शोक – राहेल आफ्ना बालकहरूका लागि रोइरहेछिन् र शान्त हुन चाहँदिनन्, किनकि तिनीहरू छैनन्।

हेरोदको मृत्युपछि येशूलाई मिश्रबाट ल्याइयो र उहाँको बाल्यकाल नासरतमा बित्यो। परमेश्‍वरको योजनालाई काट्न सक्ने को नै छ र ? अथवा परमेश्‍वरसँग मुकाबिला गर्न सक्ने अर्को शक्ति के छ र ? येशू आफ्ना अभिभावकका अधिनमा नासरतमा हुर्किरहनुभएको थियो। उहाँ मानिस झैं सामान्य वृद्धिमा बढिरहनुभएको थियो। उहाँ १२ वर्ष हुँदाको कुरो हो, हरेक वर्ष झैं उहाँका अभिभावकहरू त्यस वर्ष पनि यरुशलेम गए। उहाँ पनि अभिभावकहरूका साथ येरुशलेम जानुभयो। अनि दिनहरू पूरा गरिसक्नुभए पछि उहाँहरू फर्किनुहुँदा बालक येशू यरुशलेममा रहनुभयो। यूसुफ र उहाँकी आमालाई त्यो कुरा थाहा थिएन। उहाँ यात्रीहरूकै दलमा हुनुहुन्छ होला भन्ने उनीहरूले सम्झी उनीहरू एकदिनको बाटो हिँडे, अनि उनीहरूले आफ्ना नातादार र चिनारूहरूको बीचमा उहाँलाई खोजे। अनि जब उनीहरूले उहाँलाई भेट्टाएनन्, तब उनीहरू उहाँलाई खोज्दै यरुशलेम फर्के। तीन दिनपछि उनीहरूले उहाँलाई मन्दिरमा गुरुजनहरूका बीचमा तिनीहरूको कुरा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै बसिरहनुभएको भेट्टाए। अनि उहाँका कुरा सुन्नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्कै पर्दथे। अनि उहाँलाई देखेर उनीहरू छक्कै परे। उहाँकी आमाले उहाँलाई भनिन्: “छोरा तिमीले हामीसँग किन यस्तो व्यवहार गर्‍यौ ? हेर, तिम्रा बाबु र मैले ब्याकुल भएर तिमीलाई खोजिरहेका थियौं।” अनि उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईहरूले मलाई खोज्नुभयो, किन ? म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्‍ने कुरा के तपाईहरूलाई थाहा थिएन।” अनि उहाँ उनीहरूसित तल जानुभयो र नासरतमा आउनुभयो अनि उनीहरूको अधिनमा रहनुभयो (लूका २:४३-५१)।

येशूको वास्तविक पिताचाहिँ परमेश्‍वर हुनुहुन्थ्यो। उहाँको काम गर्न नै उहाँ संसारमा आउनुभएको हो। पिताले उहाँलाई मानिसहरूलाई मुक्तिको आवश्‍यकता देखाउन र मुक्तिका निम्ति उहाँकहाँ बोलाउन आह्वान गर्न पठाउनुभएको थियो। उहाँले मुक्तिका निम्ति पापको मूल्य चुकाउँदै बलिदान हुनुपर्थ्यो र तेस्रो दिनमा अघिबाटै भनिए झै बौरिउठ्न जरूरी थियो।

परमेश्‍वरको योजना कति महान्। मुक्तिदाताको सम्बन्धमा अरू विस्तृत जानकारी अर्को पाठमा दिइनेछ। परमेश्‍वरको योजना तपाईको जीवनमा पनि पूरा होओस्।

 

नाटक (अघिल्लो नाटकको अन्तिम खण्ड)

करतुस

(पश्‍चिमेली पाखा पखेराहरूमा सुर्योदयको ताप र रापले झार-बुट्यान लगायत रूख विरूवाहरू नयाँ मूना र पालुवाहरूले विस्तारै ढाक्दै जाँदा एक नयाँ रूप देखिए। मानौं एक नयाँ युगले धरती मोहोरिएको छ। मानव जगतलाई पनि त्यसले फेरि नयाँ स्फूर्ति र प्रेरणा प्रदान गरिरहेछ। जिउनलाई संघर्ष गर्दै जिउनलाई। माइली आमा पनि त्यही भावना र प्रेरणामा आज सबेरै व्यूझनु भएको छ। आज उहाँमा नयाँ जाँगर जुर्मुराइरहेझैं भइरहेछ। पिंढीमा चियाको मीठो स्वादसँग सन्तुष्‍टिको सास फेरिरहनुभएको मात्र के थियो कमल आँगनमा टुप्लुक्क आइपुगे र उनको साथमा साथी पनि।)

आमा: अहो ! कमल बाबु आइपुग्नुभयो ? बस्नोस् पिँढीयाँ। अनि उहाँ चाहिँ को हुनुहुन्छ नि ?

कमल: नमस्कार छ है आमा। उहाँ मेरो साथी विमल हुनुहुन्छ। उहाँ पनि तपाईंझै परमेश्‍वरको विषयमा ध्यान दिनुहुन्छ।

आमा: होइन बाबुले झोलाबाट के निकाल्नुभो ?

कमल: यो बाइबल हो आमा। हाम्रा प्रश्‍नहरूका जवाफहरू यसमा पाइन्छन् आमा। यो परमेश्‍वरले मानिसका निम्त दिनुभएको पुस्तक हो।

आमा: सुनाउनुहोस् बाबु बाइबलमा के रच। अनि बाबु हामी आफ्नो धर्मले स्वर्ग जान सक्दैनौं, आफ्नो असल काम र प्रयासले पनि सक्दैनौं ? त्यसो त स्वर्ग जाने बाटो के हो त ? राम्ररी बताइदिनुपर्‍यो बाबु।

कमल: राम्रो कुरा गर्नुभयो आमाले। मानिस परमेश्‍वरको नजरमा पापी र अधर्मी भएको कुरा आमालाई अब थाहा हुनुपर्छ। साथै मानिस आफ्ना धर्मकर्म वा असल जीवनले पापहरूबाट मुक्त हुँदैन भन्‍ने कुरा पनि आमाले अब बुझ्नुभयो। तब कहाँबाट र कसरी मुक्ति पाइन्छ त भन्ने प्रश्‍न आमाको रह्‍यो। होइन त आमा ?

आमा: ठीक हो बाबु। मैले जान्न खोजेको कुरा त्यही हो।

कमल: सुन्नुहोस् आमा, परमेश्‍वरको वचनमा यस्तो लेखिएको छ, “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो- उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्‍ट नहोस् तर उसले अनन्‍त जीवन पाओस्।” यसमा भनिएको कुरो बुझ्नुभयो आमा ? स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमेश्‍वरले विश्‍वका सबै स्थानका, सबै वर्णका, सबै वर्गका मानिसहरूलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो तर्फबाट उद्धारकर्ता प्रभु येशू ख्रीष्‍ट पठाउनुभयो। यो २०२० वर्ष अघिको कुरा हो कि येशू ख्रीष्‍ट एक कन्या स्‍त्रीद्वारा मानिसको रूपमा जन्म हुनुभई विश्‍वको बीच भागमा पर्ने इस्राएल भन्‍ने देशमा आउनुभयो। किनकि उहाँ सारा विश्‍वको निम्ति मुक्तिदाता र प्रभु हुनुहुन्छ।

आमा: कसरी उहाँ मुक्तिदाता हुनुहुन्छ त बाबु ?

कमल: सुन्नुहोस् आमा, येशूको जीवन अचम्मको थियो। पहिलो कुरो त उहाँ पापरहित हुनुहुन्थ्यो। उहाँमा केही पाप थिएन। उहाँ पवित्र पवित्र पवित्र परमेश्‍वर हुनुभएकोले यस्तो भएको हो। दोस्रो कुरो उहाँका आश्‍चर्यकर्महरू चकित पार्ने खालका थिए। उहाँले अनेकौं रोगीहरूलाई निको पार्नुभयो। भूत-प्रेत लागेकाहरूलाई निको पारिदिनुभयो। मरेकाहरूलाई जीवित पार्नुभयो। पानीमाथि हिँड्नुभयो। यसरी उहाँमा रोगमाथि अधिकार थियो। शैतानमाथि अधिकार थियो। मृत्युमाथि अधिकार थियो। प्रकृतिमाथि अधिकार थियो।

आमा: किन होला बाबु ?

कमल: किनकि उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको रूपमा आउनुमा परमेश्‍वरको विशेष उद्देश्‍य थियो।

आमा: के थियो बाबु ?

कमल: पापको ज्याला मृत्यु हो भन्‍ने कुरो आमाले बुझिसक्नुभयो। पापको ज्याला मृत्यु चुक्ता गर्नलाई नै येशू आउनुभयो। उहाँ हामी सबैका पापहरूकमा निम्ति अन्तमा क्रूसमा बलिदान बन्‍नुभयो र मर्नुभयो। मर्ने समयमा उहाँले के भन्‍नुभयो थाहा छ आमालाई ?

आमा: भन्‍नुस् न बाबु।

कमल: “अब सकियो” भन्‍नुभयो। यसको तात्पर्य यो थियो कि सारा विश्‍वको पाप क्षमाको निम्ति परमेश्‍वरले अघिबाटै जुन योजनाक्रममा काम गर्दै आउनुभयो त्यो पूरा भएको छ।

आमा: अनि उहाँको लाशलाई के भयो त ?

कमल: गज्जबको कुरो यसैमा छ। उहाँको लाश गाडिएको थियो। तर तेस्रो दिनमा त्यो लाश फेरि बौरिउठ्यो। सारा विश्‍वलाई चकित तुल्यायो। अनि उहाँ आफू जीवित हुनुभएको अनेकौं प्रमाणहरू दिनुहुँदै उहाँ चालीस दिनसम्म रहनुभयो र जीवितै स्वर्ग उचालिएर जानुभयो। आज उहाँ जीवित प्रभु र मुक्तिदाता हुनुहुन्छ। मानिसहरूको मुक्तिका निम्ति उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।

आमा: अब हामीले मुक्तिको निम्ति के गर्नुपर्ला त ?

कमल: हामीले उहाँ हाम्रा पापहरूका निम्ति मर्नुभई बौरनुभएको कुरोमा विश्‍वास गरी आफ्ना पापहरूबाट पश्‍चात्ताप गरी परमेश्‍वरमा फर्कनुपर्दछ। यसरी उहाँकहाँ आउनेहरूलाई उहाँले बचाउनुहुन्छ।

आमा: अब मैले बुझें बाबु यो कुरो। येशू ख्रीष्‍ट मेरा प्रभु र मुक्तिदाता हुनुहुन्छ। अब म आफ्ना पापबाट परमेश्‍वरतर्फ फर्कें।

कमल: परमेश्‍वरलाई धन्यवाद होस् तपाईंको निर्णयको निम्ति। हुन्छ आमा अहिलेलाई जान्छौं फेरि आउनेछौं।

आमा: लौ त बाबु यो कुरो मलाई साह्रै मनपरेको छ म यसैमा अघि बढ्छु।

समाप्‍त

पाठ ४ सिद्ध्याउनुभएकोमा धेरै-धेरै धन्यवाद। अब तपाईंले कार्यपत्र भर्न सक्नुहुन्छ र त्यसलाई बुझाउन सक्नुहुन्छ।
धन्यवाद

कार्यपत्र #४

इस्राएल राष्ट्र, उद्धारकर्ता
कृपया प्रश्नहरूको उत्तर दिनुहोस्ः
१. अब्राहामको बोलावट
२. इसहाकको बलिदान
३. व्यवस्था
४. उद्धारकर्ता सम्बन्धी भविष्यवाणीहरू
५. उद्धारकर्ताको आगमन
६. येशूको बाल्यावस्था