अमेरिकामा वि.सं १९१७ पौष ६ गते अर्थात सन् १८६० डिसेम्बर २० का दिन तत्कालीन राष्ट्रपति अब्राहाम लिङ्कनले दास प्रथाको अन्त्य भएको घोषणा गरेका थिए। आज विश्वव्यापी रुपमा दास प्रथाको अन्त्यको लागि विभिन्न क्रान्तिकारी आन्दोलनहरू भइरहेका छन्। नेपालमा पनि वि.सं. १९८१ मङ्सिर १४ गते राणा प्रधानमन्त्री चन्द्रशमशेरले दास प्रथा अन्त्य भएको घोषणा गरेका थिए। दास प्रथाको अन्त्यका लागि सामाजिक संस्थाहरू, राजनैतिक सङ्गठनहरू, बुद्धिजीवीहरू कम्मर कसेर लागेका छन्। दास प्रथा कुनै न कुनै रुपमा संसारमा यथावत नै छ।
मित्र, के दास प्रथा अर्थात दासत्त्वबाट स्वतन्त्र हुनु महत्वपूर्ण कुरा होइन र? अनि स्वतन्त्र हुनु छ भने हामीले किन ढिलाइ गर्ने? तपाईंलाई यस प्रश्नले प्रतिप्रश्न उब्जाउँछ होला के हामी पनि दासत्त्वमै छौ त? नत्र किन स्वतन्त्र हुन ढिलाइ गर्ने? उदाहरणको लागि मानौँ तपाईं काम गर्नुहुने कार्यलयमा तपाईंका मालिक छन् जसले चाहिँ तपाईंले नसक्ने कामहरू पनि जबरजस्ती गर्न लगाउँछन्। अर्थात तपाईंको इच्छा विपरित काम लगाउँछन् भने यस्तो अवस्थामा तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला? अवश्य पनि तपाईं त्यहाँबाट मुक्त हुन खोज्नुहुन्छ, होइन र?
एकछिनको लागि मानौ तपाईंले त्यहाँको काम छोड्नुभयो भने तपाईंले भन्नु होला, “म स्वतन्त्र भएँ”, तर मित्र हामी अझै दासत्त्वमै छौँ। त्यसैले तपाईं आफू स्वतन्त्र हुनुभयो भन्ने नसम्झनु भए पनि हुन्छ। पवित्र-शास्त्र बाइबलमा भनिएको छ, “हरेक जसले पाप गर्छ, त्यो पापको दास हो” (यूहन्ना ८:३४)। “तिमीहरू उसैका दास हौ, जसको आज्ञापालन तिमीहरू गर्दछौ, कि ता मृत्युका निम्ति पापको दास, कि ता धार्मिकताका निम्ति आज्ञापालनका दास” (रोमी ६:१६)। माथिका वचनहरूबाट के प्रष्ट हुन्छ भने हामी जसको आज्ञापालन गर्छौँ उसैको दास बन्छौं। जस्तै हामी झूट बोल्दैनौं भन्छौं तर झूट बोल्छौँ, अर्थात् जे नगर्ने भन्छौं त्यही गर्छौँ कारण हामी पापका दास हौं। पवित्र-शास्त्र बाइबलमा भनिएको छ, “यिनीहरू [मानिसहरू] सबै पापका वशमा छन्।धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:९, १०)। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन् (रोमी ३:२३)। अनि मित्र के हामी स्वतन्त्र छौं त? बाइबलले भन्दछ, मानिस सबै पापी छन्। असल गर्ने कोही छैन र परमेश्वरको डर मान्ने कोही छैन। “अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन्, यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो; सबैप्रकारका अधर्म, व्यभिचार (अनैतिक सम्बन्ध), दुष्टता, लोभ, शत्रुभावले भरिएकाहरू; डाहा, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर; कान फुक्नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेखिबाजहरू, खराब-खराब कुरा जन्माउनेहरू, बाबुआमाको आज्ञा नमान्नेहरू, समझ नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरूः यस्ता-यस्ता काम गर्नेहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्।त्यो मात्र होइन तर यस्ता काम गर्नेहरूसँग खुशी पनि हुन्छन्” (रोमी १:२८-३२)। अनि के आजको दिनसम्म हामी यी कुराहरूबाट अलग छौँ त? के हामीले परमेश्वरको आज्ञालाई पालन गरेका छौं त? परमेश्वरले मानिसलाई आफ्नै महिमाको लागि बनाउनुभएको हो। मानिस सृष्टिको सर्वोच्च प्राणी हो। मानिस सुन्दर र बुद्धिमान छ तर के गर्ने, मानिसले परमेश्वरको डर मान्दैन र पापका आज्ञाहरू पालन गर्दछ। त्यसकारण आज मानिस पापको दण्ड पाउने स्थान नरक जाने योग्यको छ। हामी जे छर्छौं त्यसको फल पाउँछौ। उदाहरणको लागि मैले मकै छरें भने त्यहाँ धान त फल्दैन, मकै नै फल्छ। त्यस्तै गरेर हामीले पाप गरेका छौं भने त्यसको फल त हामीले भोग्नैपर्छ। पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। पापले गर्दा आज मानिस नरकको भयानक पीडामा जाँदैछ जहाँ आगोको झील छ, जहाँ सदासर्वदा पीडा हुन्छ। पापले गर्दा मानिस नरक जान लायकको छ।
के आज तपाईं पापको दासत्त्वबाट मुक्त हुन चाहनुहुन्छ? त्यसैको लागि प्रभु येशू ख्रीष्टले हाम्रा पापहरूका निम्ति दण्ड भोग्न मानिसको रुपमा जन्म लिनुभयो। उहाँमा कुनै पाप थिएन। उहाँले एउटा पनि पाप गर्नुभएन तर पनि उहाँ हाम्रा सारा पापहरू क्रूसमा बोकी मर्नुभयो। तपाईंको पापको दण्ड जुन मृत्यु हो, त्यो उहाँले भोग्नुभयो र मर्नुभयो। उहाँ क्रूसमा टाँगिनुहुँदा, उहाँको हात र पाउमा काँटी ठोकियो, कोखामा भाला रोपियो, उहाँको शरीरबाट बहुमूल्य रगत बग्यो त्यही रगतमा मात्र हाम्रो पापको क्षमा छ। आज हामी पापको दासत्त्वबाट मुक्त्त हुन आवश्यक छ। त्यसैले येशूको रगत पाप क्षमाको लागि पर्याप्त छ। येशू ख्रीष्ट मरेको मरै हुनुभएन तर मर्नुभएको तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो र ४० दिनसम्म यस संसारमा रहनुभयो र ४० दिनपछि आफ्ना चेलाहरूको माझबाट स-शरीर स्वर्गमा उठाइनुभयो।
आज हामीले हाम्रा पापहरू स्वीकार गरी प्रभु येशू ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र उहाँ नै मुक्त्तिदाता हुनुहुन्छ भनी स्वीकार गरेमा र उहाँमाथि विश्वास गरेमा उहाँले हाम्रा सम्पूर्ण पापहरूको क्षमा दिनुहुनेछ र हाम्रा हृदयहरू शान्तिले भरिदिनुहुन्छ। अनि हामी पापको दासत्त्वबाट मुक्त्त हुनेछौं र ख्रीष्टमा स्वतन्त्र हुनेछौं र पापले हाम्राो हृदयमा राज्य गर्नेछैन। के तपाईं पापको दासत्त्वबाट मुक्त्त हुन चाहनुहुन्छ? रोजाइ तपाईंको हो!