केही महत्त्वपूर्ण प्रश्नका उत्तर

हाम्रो  जीवनमा थुप्रै प्रश्‍नहरू हुन्छन्। कति महत्त्वपूर्ण प्रश्नहरू हुन्छन् भने कति प्रश्‍नहरू कम महत्त्वका हुन्छन्। हामीलाई महत्त्वपूर्ण लाग्ने प्रश्नहरूको उत्तर पाउनलाई हामी हाम्रो सम्पूर्ण बल लगाउँछौँ। तर मैले के एउटा कुरा थाहा पाएँ भने त्यस्ता सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरू हाम्रा जीवनमा छन् जुन प्रश्‍नहरूको उत्तर खोज्न मानिस त्यत्ति लागिपर्दैन; ती प्रश्नहरू जसको उत्तर तपाईंंले थाहा पाउनै पर्छ। केही सबैभन्दा महत्त्वपूर्ण प्रश्नहरूको उत्तर यस लेखमा दिइएको छ।

बाइबल किन फरक छ?

बाइबलको जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सिमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरू पार गरेर करोडौँलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन, विद्रोहीलाई पवित्रजन बनाउँदछ। जसमा दुबै बालकदेखि वृद्धसम्म, मूर्खदेखि विद्वानसम्म सबैले उत्तिकै आनन्द लिन सक्छन्। बाइबलको सबभन्दा ठूलो प्रमाण चाहिँ यसले तपाईंको जीवनमा ल्याउन सक्‍ने परिवर्तन नै हो। यस अदभूत पुस्तक बाइबलको वास्तविक सन्तोषजनक व्याख्या एउटै मात्र छ। यो परमेश्‍वरकै प्रेरणाबाट दिएको पुस्तक हो।

“सबै पवित्रशास्त्र परमेश्‍वरको प्रेरणद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ।” (२ तिमोथी ३:१६)।

“बाइबल अरू पुस्तक जस्तो होइन” यो ईश्‍वरीय प्रेरणाबाट आएको हो। बाइबल संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो। छापाखानाको आविष्कार भएपछि सर्वप्रथम छापिएको पुस्तक पनि बाइबल नै हो। र आजसम्म पनि संसारमा अधिक्तम बिक्री हुने पुस्तक यही हो। त्यो पनि संसारको लगभग सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्‍वरले आफ्‍नो वचनलाई “जिउँदो” (हिब्रू ४:१२) भन्ने संग्या दिनुभएको छ।

परमेश्‍वर को हुनुहुन्छ?

परमेश्‍वर को हुनुहुन्छ भन्ने सम्बन्धमा धेरैजनाको विचार यस्तो छः मान्छे! अर्थात मान्छे नै परमेश्‍वर हो। किनभने मान्छेले नै बिजुली, बत्ती, आकाशमा उड्‍ने हवाईजहाज, मोटरगाडीहरू, घडी, क्यालकुलेटर, कम्प्यूटर, मोबाइल, इत्यादी बनाएका छन्। मान्छेले यस्ता कुराहरू बनाउन सक्छन् भने के मान्छे परमेश्‍वर हैन र? धेरैले यस्तो विचार गर्छन्। तर होइन! सृष्टिकर्ता परमेश्‍वरले दिनुभएका थोकहरू र बुद्धिले गर्दा मान्छेले यी कुराहरू बनाउन सकेका हुन्। उहाँ कति महान् हुनुहुन्छ होला विचार गर्नुहोस् त। उहाँले पो सूर्य, चन्द्र र ताराहरू बनाउनुभयो। जुनकिरीको पुच्छरमा चिसो बत्ती हुन्छ, मान्छेले यस्तो चिसो बत्ती बनाउन सकेका छैनन् (अचम्मका प्राणीहरू भिडियो हेर्नुहोस्)। उहाँले आकाशमा उड्‍ने चराहरू, समुद्रभित्र हुने जीवजन्तुहरू, चारखुट्टे जनावर र घस्रने जन्तुहरू बनाउनुभयो, साथै उहाँले सबै किसिमका रूख बिरुवाहरू पनि बनाउनुभयो। यदि मान्छे परमेश्‍वर हो भने, के मान्छेले यस्ता रुखहरू बनाउन सक्छन्? के तपाईंले सक्‍नुहुन्छ? कम्प्यूटरलाई त मान्छेले चलाउनुपर्छ तर कसैले चलाउन नपर्ने कमिलाहरू कसले बनाएका हुन्? उहाँको नाम हो सत्य र जीवित परमेश्‍वर।

“आफ्ना आँखाहरू माथि उठाएर हेर, यिनीहरूलाई कसले सृष्टि गर्नुभयो?” (यशैया ४०:२६)

“म परमप्रभु हुँ, र अरू कोही पनि छैन; मबाहेक अरू कुनै परमेश्‍वर छैन” (यशैया ४५:५)

म पापी?

एक समय म एकजना आफन्तसित कुराकनी गर्दै थिएँ र उहाँले मलाई भन्नुभयो, “म राती सुत्ने बेलामा कहिलेकाहीं मनमा कुरा खेल्छ, मैले आज आफ्‍नो सामान बिकाउन ग्राहकलाई कति बढाइ-चढाइ गरी कुरा गरें, त्यो ठीक त थिएन। तिमी त्यसलाई ‘पाप’ भन्छौ, तर म त्यसलाई पाप नै त भन्दिनँ किनभने त्यो सुधार्न सकिने कुरा हो।”

के तपाईं पनि यस्तै विचार राख्ने व्यक्ति हुनुहुन्छ? पाप के हो? कसरी जान्ने?

“हरेक जसले पाप गर्दछ, त्यसले परमेश्‍वरको व्यवस्था पनि भङ्ग गर्दछ; किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो।” (१ यूहन्ना ३:४)

व्यवस्था भनेको मानिसलाई दिइएका परमेश्‍वरका नियमहरू हुन्। हामी सबैले के असल हो वा के खराब हो भनेर छुट्ट्याउन सक्छौँ। व्यवस्था भङ्ग गर्नु भनेको बाबुआमाको आज्ञा नमान्नु, मान्छेको हत्या गर्नु, व्यभिचार गर्नु, चोर्नु, झूट बोल्नु, लोभ गर्नु हो। सबैलाई यो थाहा छ किनभने सबैसँग विवेक (असल र खराब छुट्ट्याउन सक्ने क्षमता) छ। सृष्टिकर्ता परमेश्‍वर सृष्टिदेखि अलग हुनुहुन्छ, पवित्र हुनुहुन्छ। अनि उहाँलाई बाहेक सृष्टिका थोकलाई पूज्नु, मूर्तिलाई पूज्नु र उहाँको विरुद्धमा गरिने कामहरू पाप हुन्। परमेश्‍वरको व्यवस्थाले यही भन्छ। 

के तपाईं पापी हुनुहुन्छ? म त होइन जस्तो लाग्थ्यो। किनकि जसरी सफा ऐनामा नहेरेसम्म अनुहारको दाग देखिन्न त्यसरी नै परमेश्‍वरको पवित्र व्यवस्थाभित्र नरहेसम्म हृदयको पाप देखिन्न। बुबाको खल्तीबाट एक रुपैयाँ चोर्नु पाप हो त? मलाई त होइन जस्तो लाग्थ्यो। तर चोर्दा डर किन लाग्यो त?

के त्यो विवेकले दोषी ठहराएको होइन र? अनि चोरी भन्ने खराब कुरा हृदयबाट आउने होइन र? अनि हृदयबाट आउँछ भने, उसले चाहे छिमेकीको बारीबाट काँचो अम्बा चोरोस् वा छिमेकीको आँगनबाट नयाँ पल्सर चोरोस्, त्यो उही खराब हृदयले गर्दा होइन र? 

हो, पाप सबैको हृदयमा छ। तपाईंले मनलागि गर्न पाउनुभएको भए, त्यहाँ अभिभावक, अधिकारी, प्रहरी, जेल, जरिवाना, ताडना, सजाय जस्ता कुनै कुरा नभएको भए, तपाईंले कस्ता-कस्ता काम लालसासाथ गर्नुहुन्थ्यो होला? मान्छेको हृदय सबैभन्दा छली छ। बाइबलले भन्छ, “त्यसलाई निको नहुने रोग लागेको छ।”

येशूले भन्नुभयो, “मानिसको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।”

तर खुशीको कुरा, येशूले यसरी पनि भन्नुभयो, “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापका निम्ति बोलाउन आएको हुँ।” प्रिय मित्र, अब तपाईं के गर्नुहुन्छ?

अझ थप प्रश्नहरूको उत्तर पाउनलाई यस वेवसाइटको तपाईंको प्रश्न बाइबलको जवाफ पेजमा जान सक्नुहुन्छ।

Share via:

Similar Posts